सत्तारुढ नेकपा स्थायी कमिटी बैठक बस्दै, यसकारण महत्वपूर्ण छ जारी बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बुधबारदेखि सुरु स्थायी कमिटी बैठकमा आज स्थायी कमिटी सदस्यहरुले धारणा राख्नेछन्।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी, सीमा विवाद, नागरिकता विधेयक, कोरोना भाइरस कोभिड–१९ का विषयमा स्थायी कमिटी सदस्यहरुले धारणा राख्नेछन्।

बुधबारको बैठकमा अध्यक्षद्वयले तय गरेको एजेन्डामाथि सदस्यहरुले असन्तुष्टि जनाएपछि केही एजेन्डा थपिएका थिए।

लामो समयदेखि एमसीसीबारे सत्तारुढ नेकपाले निर्णय गर्न नसक्दा यसबारेको अन्योलता बढेको छ । नेकपा भित्रै पनि एमसीसीलाई लिएर तिव्र विवाद छ । त्यसैले जारी बैठकलाई महत्वपूर्ण मानिएको छ ।

स्थायी कमिटी बैठकमा प्रस्तुत कार्यसूची कसरी अगाडि बढाउने भन्ने विषयमा बिहीबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । ओली र प्रचण्डबीचको छलफलबाट एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने लगायतका एजेण्डा तय गरेको थियो ।

सोहीअनुरुप बुधबारको बैठकमा एजेन्डा तय गरिनुका साथै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। त्यसबखत केहि असन्तुष्टि पनि बाहिर आएको थियो ।

एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदैछ सोही दिन दिउँसो संसद बैठक बस्दैछ ।

त्यहि बैठकको लागि पनि सत्तारुढ नेकपाको जारी बैठक महत्वपूर्ण मानिएको छ ।

आगामी असार १७ गते संसदले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निस्क्रिय हुनेछ ।

यससँगै नेपाललाई अमेरिकाले दिने भनिएको ५० करोड अमेरिकी डलर अनुदान सहयोग पनि रोकिनेछ । अहिले सिंगो देश एमसीसीको विषयलाई लिएर पुरै विभाजित देखिएको छ ।

के के थियो बैठकको ७ एजेण्डा ?

१. अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य

२. कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने

३. सीमा समस्या र समाधानबारे

४. सरकारको कामको समीक्षा

५. पार्टी कामको समीक्षा र सांगठिनक एकताको पूर्णता

६. एमसीसीबारे

७. विविधि । यसमा एक महिनाअघि भएको रुकम घटना, नागरिकता विधेयक र सांसद र प्रदेशसभा सदस्यको बैठक भत्ता नलिने विषय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?