गौरीगञ्ज बजारमा सडकभरि सर्वसाधारण

भद्रपुर । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दी उल्लङ्घन गर्दै झापाको गौरीगञ्ज गाउँपालिकाको बजार क्षेत्रमा सर्वसाधारण सडकमा निस्कने र स्थानीय व्यापारीले मनलाग्दी समयसम्म पसल खोल्ने गरेका छन् ।

भारतीय सीमा क्षेत्र नजिकै रहेको गौरीगञ्ज बजारको यस्तो अवस्थाले कोरोना सङ्क्रमण फैलिने जोखिम बढेको छ । झापा जिल्ला बजार अनुगमन समिति आज दिउँसो सो बजार पुग्दा सडकभरि मानिस थिए ।

अनुगमन समितिको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले सडकभरि सर्वसाधारणको भीड देखेपछि स्थानीय प्रहरी र जनप्रतिनिधिलाई भीड नियन्त्रण गर्न आग्रह गरेका थिए । उनले आवश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दै सरकारले गरेको बन्दाबन्दीको पूर्णरुपमा पालना गराउन स्थानीय तहले सक्रियता बढाउनुपर्ने आवश्यकता औँल्याए।

दक्षिणी झापामा रहेको गौरीगञ्ज बजारमा उपभोग्य वस्तुमा कालोबजारी भइरहेको स्थानीयवासीले गुनासो गरेपछि अनुगमन समिति आज बिहानै गौरीगञ्ज पुगेको थियो । टोलीमा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, इलाका प्रशासन कार्यालयका प्रमुख राजु दाहालगायत नापतौल कार्यालय र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको उपस्थिति थियो ।

अनुगमन समिति आउँदैछ भन्ने थाहा पाएपछि आफ्ना पसल बन्द गरेर व्यापारी लुकेको सर्वसाधारण बताउँछन् । स्थानीय तहले तोकेको समयको अवज्ञा गर्दै दिनभर खुल्ने पसल आज अनुगमन टोली पुग्नुभन्दा केही अगाडि मात्र बन्द भएको गौरीगञ्ज उद्योग वाणिज्य सङ्घका सचिव श्रवण गिरीले बताए।

“भोकले भन्दा पनि रोगले मर्ने डर ठूलो हुन थाल्यो”, उनले भने, “यहाँका मानिसलाई लकडाउनले छोएन, भनेको समेत नमानी निस्फिक्री हिँडडुल गरिरहन्छन् । यसकै कारण कोरोनाको सङ्क्रमण बढ्ने भयो ।” उनले स्थानीय जनप्रतिनिधि र प्रशासन फितलो भइदिँदा बजार र सडकमा भीडभाड बढेको दाबी गरे ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराईले भीडभाड नियन्त्रण गर्न कारवाही गर्नुपर्ने परिस्थिति सिर्जना हुन थालेको बताए। उनले स्थानीयवासीमा सचेतना नहुँदा सडकतिर हुल बाँधेर रमिता हेर्न निस्कने गरेको जनाउँदै पटकपटक सम्झाउने काम गरिएको बताए ।

गाउँपालिकाका अध्यक्ष रामबाबु श्रेष्ठले दैनिक उपभोग्य सामग्री खरिद गर्न समय निर्धारण गरिएको र भौतिक दूरी कायम गर्नका लागि पसल अगाडि गोलो घेरा बनाइएको बताए ।

झापा जिल्लास्तरीय अनुगमन समितिले गौरीगञ्जका चारवटा पसललाई ३५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

लकडाउनको मौका छोपेर बढी दाम असुलेको र म्याद गुज्रिइसकेका सामान बेचेको प्रमाण भेटिएपछि समितिले पसल सिल गर्दै जरिवाना गरेको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए।

समितिले कुसल फलफूल पसललाई १० हजार रुपैयाँ, प्रदीप स्टोर्सलाई १० हजार, भावना स्टोर्सलाई १० हजार रुपैयाँ र साक्षी किराना पसललाई पाँच हजार

रुपैयाँ जरिवाना गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी राईले उपभोक्ताबाट गुनासो आउन थालेपछि अनुगमनका क्रममा सामानको मूल्यको दररेट, बिल र खाता हेर्दा २० प्रतिशतसम्म दाम बढाएर बेचेको भेटिएको बताए । रासस

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

नेपालमा कोरोना अपडेट: ९९ पुगे संक्रमित, जम्मा १४ हजार ९६ वटा पिसिआर परीक्षण (विवरणसहित)

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

हृदयघातको हल्ला पछि बोले पूर्वयुवराज पारस :  के हर्टअट्याक हुने मान्छे हो म ? 

कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?