काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको संवाहक वर्ग हो भन्दै सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैँ अघि सरेर समस्याको सामना गर्न सक्ने श्रमजीवी वर्ग नै भएको उल्लेख गरे।
“आज नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिङ्गै विश्व कोरोना महामारीविरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयास गरिनु दुःखद् कुरा हो ।” प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।”
कोरोना भाइरसको महामारीविरुद्ध अग्रपङ्क्तिमा रहेर जुधिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइलगायतका सेवामा क्रियाशील श्रमजीवीहरु यसका उदाहरण भएको उल्लेख गर्दै उनले ‘काम, मनोरञ्जन र आराम’ बीच सन्तुलन कायम गर्न माग स्थापित श्रमिक दिवसमा श्रमिकको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनका लागि भएका सबै आन्दोलनको स्मरण गरिँदै आएको उल्लेख गरेका छन् । उनले भनेका छन्, “श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो । श्रमबिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ ।”
कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेको उल्लेख गर्दै उनले यसबाट सिर्जना भएको पीडाप्रति आफू जानकार तथा संवेदनशील रहेको जनाएका छन् । स्वस्थ नागरिक निर्माण गर्न स्वास्थ्य बीमासहितको जनस्वास्थ्य र सीपयुक्त नागरिक निर्माणका लागि शिक्षामा लगानी वृद्धि गर्दै ‘आजको लागि स्वास्थ्य, भोलिका लागि शिक्षा’ अबको हाम्रो दिशा हुने जनाएका छन्।
नेपालको राजनीतिक आन्दोलनले ट्रेड युनियन आन्दोलनलाई वैचारिक नेतृत्व गरिरहेको तर नेपाली ट्रेड युनियन आन्दोलनले राजनीतिक आन्दोलनलाई धेरै कुरा सिकाएको छ भन्दै उनले अप्ठ्यारोमा नहड्बडाउने, अनिकालमा मिलेर बीउ जोगाउने, सहकालमा भएका नाफाको न्यायोचित वितरणमा सामाजिक संवाद गर्ने, अनि विविधताबीच एकता कायम गरी अघि बढ्ने कुराहरु आन्दोलनको सिकाइ भएको उल्लेख गरे । सन्देशमा भनिएको छ, “कमीकमजोरी भए सच्याउनुपर्छ तर अराजक होइन, अनुशासित हुनुपर्छ ।” रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया