प्रहरीको आँखा छल्दै सुर्खेतबाट हिँडेरै दैलेख, भन्छन्ः ‘चौतारीमा सुत्यौं, भोकभोकै ३५ घण्टा हिँड्यौं’

एलपी पौडेल / सुर्खेत । लकडाउन थपिँदै जान थालेपछि सुर्खेतमा रहेका दैलेख स्थायी घर भएकाहरु हिँडेरै भएपनि घर जान थालेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा वभिन्न शिलशिलामा बस्दै आएकाहहरु विभिन्न स्थानमा सुरक्षाकर्मिको आँखा छल्दै तीन दिनसम्म लगातार हिँडेर जान थालेका हुन् । लकडाउनका कारण यातायात र फाटफुटबाहेक किराना र खाद्यान्न पसलहरु पनि ठप्प छन् ।

दैलेखको भैरवी गाउँपालिकाका गंगाराम कंडेल केहि दिनअघि सुर्खेतबाट हिँडेरै दैलेख पुगे । पाँच जनाको समुहमा गएका उनिहरुले यो यात्रा अविस्मरणीय र कष्टकर रहेको बताए । ‘नयाँ वर्ष आउँदै थियो । लकडाउन थपिँदै जान थाल्यो । यहाँ एक्लै बसरे केही काम भएन । सबै परिवार दैलेखमा हुनुहुन्थ्यो । हिँडेरै भए पनि दैलेख पुगियो ।’ उनले भने ।

उक्त टोलीमा रहेकि लक्ष्मी कंडेलले बाटोमा धेरै दुःख भएको बताइन । ‘खाना पनि पाइएन, दुई दिनसम्म भोकभोकै हिँडियो ।’ उनि भन्छिन्, ‘ बाटोमा चाउचाउ किन्ने ठाउँ पनि थिएन । कसैले पानी पनि दिएनन् ।’

उनले गर्मिमा दुई दिन लगातार करिब ३४ घण्टाभन्दा बढि हिँड्दा आफुहरु अहिले घर पुगेर बिरामी परेको बताउँदे बाटोमा कसैले बास नदिएर कसैको गोठमा सुतेको बाइन् ।
दैलेख पश्चिमको चामुण्डाविन्द्रासैनीका गणेश आचार्य प्रदेश राजधानी सुर्खेतको विरेन्द्रनगरदेखि पैदल यात्रा गरेर करिब तीन दिनमा गाउँ पुगे ।

सुर्खेतमा लोकसेवा आयोगको तयारी गर्दै गरेका आचार्य र उनका एकजना साथि विभिन्न ठाउँमा प्रहरीलाई छल्दै आफु गन्तब्यमा पुगेको बताए । ‘लकडाउनले सबै बन्द भयो । बन्द हुन्छ भन्ने खबर एक्कासी पाएँ ।’ उनले भने, ‘यहाँ पढाईका काम सबै बन्द भयो, घरमा काम पनि धेरै छ । मैले सहरमा बसेर खर्च गर्ने, घरमा घाँसदाउरा गर्ने, गहुँ काट्ने कोही थिएनन् । जसरी पनि जानु थियो । हिँडेरै भएपनि गाउँमा पुगियो ।’ आचार्यले भने, ‘मैले सुर्खेतदेखि दैलेख आउँदन बाटोमा कतै पसलहरु पनि खुलेको देखिँन । यहाँ नयाँ मान्छे देख्यो कि सबै सतर्क हुन्छन् । न कसैको घरमा बास नै दिन्छन् ।’

चामुण्डाविन्द्रासैनीकै चन्द्रलाल पौडेल केही दिनअघि दैलेख जान भनेर पैदल हिँडे । करिब पाँच घण्टा हिँडेर सुर्खेत र दैलेखका सिमानानजिक गुँरासेमा पुगेपछि प्रहरीले फर्काइदियो । दुई भाइसहित गएका उनिहरु पुनः पाँच घण्टा यात्रा गरेर वीरेन्द्रनगर फर्किए । ‘गुराँसेबाट फर्किएपछि हामी लगातार पाँच घण्टा हिँडेर वीरेन्द्रनगर आयौं । खुट्टा दुखेर हैरान थिए । त्यसको तीन दिनपछि प्रहरीको आँखा छल्दै दैलेखतर्फ लाग्यौं ।’ उनले भने, ‘दुई दिनमा ३५ घण्टाभन्दा बढि लागातार हिँड्यौं । बाटोमा चाउचाउ खायौं । चौतारीमा सुत्यौं । कसैले बास दिएनन् ।’

केही दिनअघि दैलेखको भैरवी गाउँपालिकाका लिलाराम पौडेलसहितको टिम पनि सुर्खेतबाट हिँडेरै दैलेख पुग्यो । यी त उदाहहरण मात्रै हुन् । प्रहरीको आँखा छल्दै सुर्खेतमा बस्दै आएका धेरैजना हिँडेरै गाउँ जान थालेका छन् । लकडाउन थपिदै जान थालेपछि प्रदेश राजधानीसंगै जोडिएको जिल्ला भएकोले पनि दैलेख पुग्न थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?