बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा भारी हिमपातपछि सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका–दैजी घर भएका २० वर्षीय मनिष बोहरा मृत अवस्थामा फेला परेका हुन् । उनी गत शुक्रबारदेखि सम्पर्कविहीन थिए ।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार युवकको खोजीका लागि आज सदरमुकाम मार्तडीबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो । खोजीका क्रममा बोहरा बडीमालिकास्थित त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेका हुन् ।
मृतकको शव फेला पारेपछि खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत फिर्ता ल्याउने पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
यसअघि हिमपातका कारण बडीमालिकाको त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । उनलाई उद्धार गरी मार्तडी ल्याइएको थियो ।
चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिकाको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा अलपत्र परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया