कतारमा कार्यरत नेपाली श्रमिकको प्रश्न : खोइ त हाम्रो सरकार ?

काठमाडौं । चार लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत खाडी राष्ट्र कतारमा शुक्रवारसम्म ५४९ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको त्यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२८ लाखभन्दा केही बढी जनसङ्ख्या रहेको कतारमा त्यसको लगभग १५ प्रतिशत मात्रै कतारीहरूले ओगट्ने र बाँकी अन्य देशबाट आएका श्रमिक रहेको बताइन्छ । कतारको जनस्वास्थ्य मन्त्रालयले १३ हजार छ सयभन्दा बढीमा परीक्षण गरिएको भने पनि कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको राष्ट्रियता खुल्ने विवरण सार्वजनिक गरेको छैन । त्यहाँ पछिल्लो आठ वर्षदेखि कार्यरत एक नेपाली श्रमिकले सत्यतथ्य सूचना नपाएको र छटपटी भइरहेको अनुभव सुनाएका छन् ।

हाम्रो अभिभावक खोइ ?

सुरक्षाका कारण नाम गोप्य राख्न अनुरोध गर्दै ती श्रमिकले भने, सुरक्षित हुनलाई सरकारले भनेका नियमहरू पालना गरिरहेको छु। तर अरू देशमा जस्तो यति जना नेपाली श्रमिकमा सङक्रमण देखिए वा यति जना उपचारपछि निको भए भनेर यहाँ केही पनि भनिएको छैन। राजदूतावासलाई सम्पर्क गर्दा पनि केही जानकारी पाउन सकिँदैन । भोलि मलाई नै सङ्क्रमण देखियो भने पनि आफ्नै राजदूतावासलाई र परिवारलाई खबर गर्न नसकिने अवस्था छ।

कतारमा कति नेपालीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ, कति जना क्वारन्टीनमा राखिएका छन् भन्ने हाम्रो राज्य र अभिभावकलाई नै थाहा हुँदैन भने हामीले कसको भरोसा गर्ने ? सुरक्षागार्डको काम गरिरहेका उनले आफू दुई सय जनाभन्दा बढी दक्षिण एशिया र अफ्रिकाका विभिन्न कामदारहरूसँग एउटै आवासमा बसिरहेको जानकारी दिए ।

एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने गाडिमा दैनिक ४५ मिनेटको यात्रा गरी आफू काम गर्ने ठाउँमा पुग्ने उनले बताए । उनी भन्छन् पहिला पनि दिनको २५ जना हाम्रा गाडीमा हुन्थ्यौँ। अहिले पनि हामी २५ जना नै हुन्छौँ । तर कुनै मास्क वा पञ्जाजस्ता सामग्री दिँदैन । काम गर्ने ठाउँमा साबुन पानी छ तर कोठा फर्किएपछि सबैथोक आफैँले व्यवस्था गर्नुपर्छ ।

उनले थपे, यस्तो लापरवाही भयो, हामी काममा जान सक्दैनौँ भन्यौँ भने सुतेर बस् हामी खाना दिँदैनौँ भन्ने गर्छ। सुरक्षागार्डको काम नै खोसियो भने ज्याला पनि नआउने अवस्था हुन्छ। त्यही भएर कोही बोल्न सकिरहेका छैनन् ।

नेपाली राजदूतावास यसो भन्छ

दोहास्थित नेपाली राजदूतावासका उपप्रमुख लक्ष्मण खनालले सन् २०२२ को विश्वकप फुटबल खेलको आयोजनासहित रणनीतिक आयोजनाहरूमा मिलेसम्म काम गर्ने कतारको सरकारले बताएको र कतिपय साना कम्पनीहरूले भने काम रोकेका आफूहरूले थाहा पाएको जानकारी दिए ।

उनी भन्छन् “लकडाउन जस्तो स्थितिका कारण कतिपय साना कम्पनीले काम बन्द गरेका र त्यहाँ कार्यरत नेपालीहरू रोकिएर बस्नुभएको छ भन्ने हामीलाई जानकारी छ । तर यहाँको सरकारले लकडाउनको कारणले जान पाएन वा काम रोकियो भने पनि खाने बस्ने व्यवस्था मिलाइन्छ र ज्याला पनि उपलब्ध गराइन्छ भनेको छ।”

कतार

कतारले भनेका ५४९ जना कोरोनाभाइरस सङ्क्रमितहरूमध्ये नेपालीहरू रहे या नरहेकोबारे प्रस्ट नभएको नेपाली अधिकारीहरु बताउँछन् ।

 

बीबीसी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?