धरान पोखरा र नेपालगञ्जमा कोरोना भाइरस परीक्षण गरिने

काठमाडौं । सरकारले तीन ठूला शहरका अस्पतालमार्फत कोरोनाभाइरसको परीक्षण सुरु गर्ने भएको छ । प्रदेश १ को धरान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को नेपालगञ्जमा भाइरस परीक्षण गर्न लागिएको हो । बाँकेको नेपालगञ्ज मेडिकल कलेज–शिक्षण अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरामा कोभिड–१९ भाइरस परीक्षणको सुरुवात गर्न थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसका लागि प्रविधिक टोली समेत पठाइएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए । देशका सातै प्रदेशमा कोरोना जाँच गर्ने व्यवस्था मिलाउने योजना बनाइए पनि हाल भने तीन स्थानमा मात्र व्यवस्था गरिएको निर्देशक पाण्डेले बताए ।

‘कोरोना संक्रमण भएन–भएको पत्ता लगाउन अब यहाँको प्रयोगशालामा आउन पर्दैन,’ उनले भने,‘प्रदेश तहमा नै व्यवस्था चाडैँ हुन्छ ।’ शुक्रबारदेखि नै कोरोनाभाइरस (कोभिड–१९) को नमुना परीक्षण सुरु हुने उनले बताए ।

कोरोनाभाइरस संक्रमण परीक्षण जोखिमपूर्ण हुने भएकोले स्थल चयन गर्न समेत कठिनाई हुने निर्देशक पाण्डेले बताए । ‘कोरोना जाँच गर्ने स्थलमा वायोसेफ्टीको आवश्यकता पर्छ,’ उनी भन्छन्,‘परीक्षण गर्ने क्रममा नमुनालाई चलाउने, घुमाउने,एउटा भाडाबाट अर्को राख्नुपर्छ त्यसैले सावधानी अपनाउन जरुरी हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?