कर्णालीमा ‘कालापहाडका तोडा’

एलपी पौडेल, सुर्खेत । कर्णालीका अधिकांश युवाहरु ‘काला पहाड’ अर्थात् भारतलगायत अन्य मुलुकमा मजदुरीका लागि जाने गर्दछन्  । जसको कारण हो, स्वदेशमै रोजगारीको उपलब्धता नहुनु । बेरोजगारी देशकै समस्या भएपनि कर्णाली प्रदेशमा धेरै मात्रामा बेरोजगारी रहेको छ । सोही समस्याका कारण (कर्णालीबासिकै शव्दमा ‘काला पहाड’) बैदेशिक रोजगारीको लागि भारतलगायत अन्य मुलुकमा जानु यहाँका अधिकांश नागरिकहरुको बाध्यता रहेको छ ।

हाल कर्णालीबाट कति जना वर्षेनि विदेशिन्छन् भन्ने एकिन तथ्यांक नभएपनि कर्णालीमा बैदेशिक रोजगारीको लागि विदेशिने नागरिकहरुको संख्या धेरै छ । यसरी बुझ्दा कर्णालीको अर्थतन्त्र र युवाहरु ‘काला पहाड’संग निर्भर छन् । कर्णाली प्रदेश सरकारको तथ्यांकअनुसार कर्णाली प्रदेशका करिब ४१ प्रतिशत नागरिकहरु मात्रै सक्रिय रुपमा आर्थिक क्रियाकलापमा संग्लग्न रहेका छन् । भने कुल जनसंख्याको आधाभन्दा बढि ५९ प्रतिशत जनसंख्या कालापहाडको भरमा जिविकोपार्जन गरिरहेका छन् ।

कर्णालीको ठुलो ‘रोग’ को रुपमा रहेको बेरोजगारी र यहाँका युवाहरुको निर्वैकल्पिक बाध्यताको रुपमा रहेको बैदेशिक रोजगार ‘काला पहाड’ को कारण र समाधान खोज्न सम्बन्धित क्षेत्रका विज्ञसहित बहस हुने भएको छ । आउँदो फागुन १९ गतेदेखि २१ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली उत्सव’ मा कर्णालीको बेरोजगारी, बैदेशिक रोजगारी, आर्थिक क्रियाकलाप, उद्योग, युवा आप्रवासन, उद्यमशिलता लगायतका विषयमा बहस हुने भएको हो । उक्त शत्रको नामाकरण ‘काला पहाडका तोडा’ रहेको छ । ‘तोडा’ शव्दको अर्थ धन पैसा राख्ने छाला आदिको थैली भन्ने हुन्छ । अधिकांश कर्णाली बासिको आर्थिकोपार्जनको स्रोत ‘काला पहाड’ रहेको छ ।

सुर्खेतस्थित ऋति फाउण्डेशनले आयोजना गरेको तीन दिनसम्म सुर्खेतको बुलबुले उद्यानमा संचालन हुने उक्त उत्सवको तेस्रो दिन फागुन २१ गते उक्त विषय माथी छलफल हुनेछ । वक्ताको रुपमा कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाही, प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार विज्ञ युवराज बस्नेत, र एकजना उद्यमि उपस्थित हुने आयोजकले जनाएको छ ।

‘कुडा कर्णालीका’ मुख्य नारा रहेको उक्त उत्सवले वास्तविक कर्णालीलाई चिन्ने र चिनाउने उद्धेश्य लिएको कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले बताए । ‘बौद्धिक बहस हुने यस्तो कार्यक्रम कर्णालीमै पहिलोपटक सञ्चालन हुन लागेको छ ।’ उनले भने, ‘कार्यक्रममा साहित्यका अलावा आर्थिक, सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयमा बहस हुन्छ ।’
करिब १६ वटा शत्र रहेको उत्सवमा सबै शत्रहरु रोचक र महत्वपुर्णं हुने बताइएको छ । बहसका प्राय शत्रहरु खस भाषमा निर्माण गरिएको उत्सवका सदस्य दिनेश गौतमले बताए । ‘हामिले कर्णाली उत्सव हरेक वर्ष सञ्चालन गर्नेछौं ।’ उनले भने, ‘उत्सवको पहिलो संस्करणमा समेट्न नसकेका विषयवस्तु अर्काे वर्ष प्राथामिकतामा राख्नेछौं ।’

कार्यक्रममा देशविदेशमा रहेका कर्णालीप्रेमी चर्चित साहित्यकार, कलाकार, लेखक, पत्रकार, बुद्धिजीवि एवं विशिष्ट व्यक्तित्वहरु वक्ता तथा सञ्चालकको रुपमा आउने छन् । सयौं वक्ता र हजारौं दर्शक सहभागीहरुबीच हुने उक्त अन्तरकृयाले कर्णालीको मौलिक इतिहासलाई कोट्याउने, कर्णालीको यथार्थ चित्र प्रस्तुत गर्ने तथा अबको बाटो देखाउन सहयोग गर्ने आयोजकको विश्वास रहेको छ ।

उत्सवमा बौद्धिक बहसका साथै कविता तथा गजल बाचन समेत राखिएको छ । कार्यक्रममा विभिन्न चर्चित गजलकार तथा कविहरुको पनि उपस्थिति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?