एउटा निर्वाचनको हारले आन्दोलनको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले निर्वाचनमा पार्टीले व्यहोरेको हारबाट पाठ सिकेर अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन् ।

एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार सम्बोधन गर्दै उनले निर्वाचनमा भएको हार स्थायी नभई अस्थायी भएको बताइन् । उनले हारबाट निराश हुनुको सट्टा कमजोरी पहिचान गरी सुधार गर्नुपर्नेमा जोड दिइन् ।

११ वर्षपछि सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने बताइन् । उनले नेता तथा कार्यकर्तालाई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ आगामी निर्वाचनको तयारीमा जुट्न आग्रह गरिन् ।

उनले भनिन्, ‘निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही र सकारात्मक पाठ सिक्दै, सुधार गर्नुपर्ने पक्षलाई सुधार्दै कमीकमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायत निर्वाचनमा केन्द्रित हुनुपर्छ ।’

सक्रिय राजनीतिमा फर्किनुको कारणबारे स्पष्ट पार्दै भण्डारीले आफू कुनै पद, सुविधा वा अवसरका लागि नफर्किएको बताइन् । पार्टीको वैचारिक विकास, संगठन सुदृढीकरण र सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन राजनीतिमा फर्किएको उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति भण्डारीले आफूलाई अब कुनै पनि पदप्रति आशक्ति नरहेको पनि बताइन् । उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा असर पर्ने गतिविधि कसैले गर्न नहुने धारणा राखिन् ।

उनले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी पार्टीको व्यवहार र निर्णय प्रक्रियामा लागू गर्नुपर्ने बताइन् ।

यस्तै, युवापुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसंगठनले उद्यमशीलता विकास र रचनात्मक अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । निर्वाचित जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनका क्षेत्रमा पारदर्शी ढंगले काम गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।

एमालेको दुईदिने राष्ट्रिय भेला आज सम्पन्न हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?