काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको पोशाक लगाएर सडक पेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि संगठनले कारबाही प्रक्रिया अघि बढाएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले प्रेस विज्ञप्ति जारी गर्दै पोशाक दुरुपयोग गर्ने व्यक्ति र भिडियो बनाएर सामाजिक सञ्जालमा प्रसारण गर्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन् ।
संगठनका अनुसार भिडियोमा देखिएका व्यक्तिले सशस्त्र प्रहरी बलको कम्ब्याट ड्रेसको पाइन्ट लगाएका छन् । ती व्यक्तिलाई सशस्त्र प्रहरीका सुरक्षाकर्मीका रूपमा प्रस्तुत गर्दै सामाजिक सञ्जालमा विभिन्न भ्रामक सामग्री प्रसारण भइरहेकोप्रति संगठनले आपत्ति जनाएको छ ।
यस्ता गतिविधिले सर्वसाधारणमा भ्रम सिर्जना गर्न सक्ने भन्दै सशस्त्र प्रहरीले प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
साथै, उक्त भिडियोलाई सशस्त्र प्रहरी बलसँग जोडेर नबुझ्न संगठनले सर्वसाधारण तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
सशस्त्र प्रहरीले असम्बन्धित व्यक्तिलाई संगठनको पोशाक, दर्ज्यानी चिह्न तथा पहिचान झल्किने सामग्री प्रयोग नगर्न पनि अनुरोध गरेको छ । यस्ता गतिविधिबारे जानकारी भएमा टोल फ्री नम्बर १११४ मा खबर गर्नसमेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया