काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसालाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
छठ पर्वको अवसरमा शनिबार जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले अब जनतामाझ आश्वासन र वाचापत्र नभई कामको परिणाम लिएर जाने बताए ।
उनले जनताले पार्टीलाई दिएको विश्वासलाई सम्मान गर्दै जनतालाई केन्द्रमा राखेर काम गर्ने बताए । ‘हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ,’ उनले भने ।
लामिछानेले पार्टीको विधि, विधान र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने स्पष्ट पारे । रास्वपाको उद्देश्य गरिब तथा विपन्न बस्तीमा टिकट पुर्याउनु नभई शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँच पुर्याउनु रहेको उनको भनाइ थियो ।
‘यो ऐतिहासिक अवसर कुनै व्यक्तिलाई खुसी पार्न आएको होइन, जनताको अनुहारमा मुस्कान ल्याउन आएको हो,’ उनले भने ।
उनले जनताको हितका विषयमा आफ्नो पार्टीको सरकार भए पनि वा अन्य दलको सरकार भए पनि सही कामको समर्थन र गलत कामको विरोध गर्ने बताए । यसलाई उनले आन्तरिक लोकतन्त्रको अभ्यास भएको उल्लेख गरे ।
सरकारले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न सक्रिय हुनुपर्ने बताउँदै लामिछानेले जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा रास्वपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । छठ पर्व मनाउन सभापति लामिछाने पत्नी निकिता पौडेलसहित शनिबार जनकपुरधाम पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया