अछाममा भिरबाट लडेर ३२ वर्षीय युवकको मृत्यु, एक जना घाइते

लोकपथ
0
Shares

अछाम । अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको ढकारी गाउँपालिका–१ बासल्लाका ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको हो । उनीसँगै रहेका सोही ठाउँका ३१ वर्षीय गणेश बुढा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा गएराति बासल्ला नजिकैको भिरबाट दुवै जना लडेका थिए । बिर्खे करिब १५० मिटर तल खसेका थिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीचौकी ढकारीबाट प्रहरी सहायक निरीक्षक हरिदत्त भट्टको नेतृत्वमा तीन जनाको टोली उद्धारका लागि खटिएको थियो ।

प्रहरीले उद्धार गरी दुवै जनालाई स्थानीय स्वास्थ्यचौकी ढकारीमा सामान्य उपचार गराएको थियो । उपचारपछि गणेश डिस्चार्ज भएका थिए भने गम्भीर घाइते बिर्खेलाई थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन पठाइएको थियो ।

प्रहरी नायब उपरीक्षक पविन्द्रबहादुर बम्मका अनुसार उपचारका क्रममा आज बिर्खेको मृत्यु भएको हो । उनको अनुहार, छातीसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।

मृतक बिर्खेको शव जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?