टर्कीमा नेपाली श्रमिकका समस्या समाधान गर्न एनआरएनएले परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापनपत्र

लोकपथ
21
Shares

काठमाडौं । टर्कीमा कार्यरत नेपाली श्रमिकले भोग्दै आएका श्रम शोषण, वैदेशिक रोजगारमा ठगी, कन्सुलर सेवाको अभाव र कानुनी असुरक्षालगायतका समस्या समाधान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले नेपाल सरकारसँग ठोस पहल गर्न माग गरेको छ ।

एनआरएनए टर्कीले नेपाली श्रमिक तथा गैरआवासीय नेपाली समुदायका समस्या समेटेर परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीको अन्ताल्या पुगेका मन्त्री खनाललाई नोभेम्बर ११ मा ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा एनआरएनए टर्कीका अध्यक्ष डा.विनोद पौडेल, उपाध्यक्षद्वय मन्दिरा खत्री र डोरबहादुर खड्कालगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।

संघले टर्कीमा नेपाली आवासीय दूतावास स्थापना गर्नुपर्ने मागलाई प्राथमिकताका साथ उठाएको छ । दूतावास नहुँदा राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा आकस्मिक कन्सुलर सेवा लिन नेपाली नागरिकले सास्ती र आर्थिक भार बेहोर्नुपरेको भन्दै तत्काल नियमित घुम्ती कन्सुलर सेवा सञ्चालन गर्न माग गरिएको छ ।

त्यस्तै, व्यक्तिगत श्रम स्वीकृतिका नाममा बिचौलिया र दलालबाट नेपाली नागरिक ठगिने क्रम बढेको भन्दै टर्कीका लागि व्यक्तिगत श्रम स्वीकृति बन्द गरी संस्थागत माध्यमबाट मात्रै श्रमिक पठाउने व्यवस्था गर्न संघले आग्रह गरेको छ । श्रमिक पठाउने म्यानपावर कम्पनीलाई नै सम्पूर्ण कानुनी जिम्मेवारी दिने र ठगीमा संलग्न कम्पनी तथा एजेन्टमाथि कडा कारबाही गर्नुपर्ने माग पनि गरिएको छ ।

टर्कीमा नेपाली श्रमिकले आठ घण्टाको सम्झौता गरेर दैनिक १२ देखि १३ घण्टासम्म काम गर्नुपर्ने, समयमा पारिश्रमिक नपाउने तथा बिना कारण कामबाट निकालिनेलगायत समस्या भोगिरहेको संघले जनाएको छ । श्रमिकको कार्यसमय, सेवा–सर्त र पारिश्रमिक सुनिश्चित गर्दै श्रम शोषण अन्त्य गर्न तथा पीडितलाई कानुनी सहायता उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

घरेलु कामदार तथा स्याहारकर्ताका रूपमा कार्यरत नेपाली महिला श्रमिकको सुरक्षा र अधिकारको विषयलाई समेत संघले प्राथमिकतामा राखेको छ । निश्चित कार्यसमय र पारिश्रमिकको सुनिश्चितता नहुँदा महिला श्रमिक शारीरिक तथा मानसिक तनावमा पर्ने गरेको भन्दै सुरक्षित कार्यस्थल र निष्पक्ष कानुनी सुनुवाइका लागि टर्की सरकारसँग कूटनीतिक पहल गर्न माग गरिएको छ ।

यसैगरी, नेपाल–टर्कीबीच कार्गो तथा कुरियर शुल्क घटाउन, समस्यामा परेका नेपाली श्रमिकको तत्काल उद्धार गर्न र बाँकी पारिश्रमिक असुली तथा कानुनी सहायता उपलब्ध गराउन स्थायी सरकारी संयन्त्र निर्माण गर्नुपर्ने माग गरिएको छ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने श्रमिकको शव स्वदेश पठाउन तथा गम्भीर बिरामी र दुर्घटनामा परेकाको उपचार र क्षतिपूर्तिका लागि आपत्कालीन कल्याणकारी कोष स्थापना गर्न पनि संघले आग्रह गरेको छ ।

एनआरएनए टर्कीका महासचिव श्याम पाण्डेले हस्तान्तरण गरेको ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री खनालले विदेशमा समस्यामा परेका नेपालीको उद्धार तथा मानवीय सहयोगमा एनआरएनएले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे ।

टर्कीमा नेपाली आवासीय दूतावास नहुँदा कन्सुलर सेवा प्राप्त गर्न कठिनाइ भइरहेको विषयमा सरकार जानकार रहेको बताउँदै मन्त्री खनालले तत्कालका लागि अवैतनिक कन्सुलमार्फत सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिए । उक्त प्रक्रिया सरकारको अनुमतिको प्रतीक्षामा रहेको उनको भनाइ थियो । साथै, टर्कीमा नेपाली आवासीय दूतावास स्थापना गर्ने सम्भावनाबारे आवश्यक अध्ययन गरिने उनले बताए ।

अवैधानिक माध्यम तथा मौसमी कामदारका नाममा ठूलो रकम खर्चेर टर्की पुग्ने नेपाली श्रमिकले उचित रोजगारी नपाई अलपत्र पर्ने गरेको समस्याप्रति सरकार गम्भीर रहेको मन्त्री खनालले बताए । एनआरएनए टर्कीले उठाएका विषय सम्बोधन गर्न नेपाल र टर्कीबीच द्विपक्षीय श्रम सम्झौता वा आवश्यक अन्य प्रक्रियामार्फत वैधानिक बाटोबाट मात्रै श्रमिक जाने वातावरण बनाउन पहल गरिने उनले प्रतिबद्धता जनाए ।

टर्कीमा नेपालीको सङ्ख्या बढ्दै जाँदा श्रमिकका समस्या पनि थपिँदै गएको भन्दै एनआरएनए टर्कीले कूटनीतिक संरक्षण, सुरक्षित वैदेशिक रोजगारी र प्रभावकारी उद्धार संयन्त्रको आवश्यकता औँल्याएको छ । विदेशमा श्रम गरेर नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याइरहेका नेपाली श्रमिकको सुरक्षा, सम्मान र अधिकार संरक्षण सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिँदै संघले ज्ञापनपत्रमा उल्लेखित माग कार्यान्वयन गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?