दिल्ली बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

लोकपथ
0
Shares

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । शुक्रबार दिल्लीले पाकिस्तानको लाहोरलाई उछिन्दै पहिलो स्थानमा पुगेको हो ।

स्विस संस्था ‘आईक्यूएयर’का अनुसार दिल्लीको वायु गुणस्तर सूचकांक (एक्यूआई) ३३४ पुगेको छ । यो स्तर ‘अत्यन्त अस्वस्थ’ श्रेणीमा पर्छ ।

यस्तै, भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले दिल्लीको एक्यूआई ४०३ मापन गरेको छ । बोर्डले यसलाई ‘गम्भीर’ श्रेणीमा राखेको छ । फरक मापन प्रणाली र मापदण्डका कारण दुई संस्थाले सार्वजनिक गरेका तथ्यांकमा भिन्नता देखिएको हो ।

शुक्रबार दिल्लीका विभिन्न क्षेत्रमा बाक्लो विषाक्त धुवाँ र तुवाँलो (स्मोग) फैलिएको छ । सडकमा गुड्ने सवारीसाधनसमेत बाक्लो तुवाँलोबीच चलिरहेका छन् । प्रदूषणका कारण मुख्य सडकका बत्तीको उज्यालोसमेत मधुरो देखिएको छ ।

वायु प्रदूषणको यो अवस्थाले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा छन् ।

भारत र पाकिस्तानका विभिन्न क्षेत्रमा जाडोयाममा वायु प्रदूषणको समस्या प्रत्येक वर्ष बढ्ने गर्छ । यस समयमा प्रदूषक तत्त्वको मात्रा बढ्दा वायुको गुणस्तर खस्किने र मानिसहरूलाई श्वासप्रश्वासमा समस्या हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?