सरकार सत्ता कब्जा र लोकतन्त्र हरण गर्ने बाटोमा छ : डिला संग्रौला

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा लोकतन्त्र र नागरिक स्वतन्त्रतामाथि प्रहार गर्न लागेको आरोप लगाएकी छन् । उनले सरकारको गतिविधि सत्ता कब्जा र लोकतन्त्र हरण गर्ने दिशातर्फ उन्मुख रहेको भन्दै त्यसविरुद्ध कांग्रेस सडक आन्दोलनमा जानसमेत पछि नपर्ने चेतावनी दिएकी छन् ।

नेपाल विद्यार्थी संघ गोरखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रममा बोल्दै महामन्त्री पन्तले मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेको बताइन् ।

उनले लोकतन्त्रका लागि संघर्ष गरेका नेता तथा राजनीतिक दलविरुद्ध राज्यशक्तिको प्रयोग भइरहेको भन्दै आपत्ति जनाइन् । मुलुकका गम्भीर समस्यालाई बेवास्ता गरेर सरकार प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको उनको आरोप थियो ।

सरकारले दुई तिहाइको दम्भ देखाएर नागरिक स्वतन्त्रतामाथि प्रहार गर्न खोजेको भन्दै उनले यस्ता गतिविधि स्वीकार्य नहुने बताइन् । लोकतन्त्र रक्षाका लागि कांग्रेस सडकमा उत्रिन बाध्य हुने उनको चेतावनी थियो ।

महामन्त्री पन्तले शिक्षाको गुणस्तर खस्किँदै गएको र युवाका लागि विदेश नै प्रमुख गन्तव्य बन्दै गएको बताइन् । युवालाई स्वदेशमै भविष्य देखाउन सरकारले आवश्यक काम गर्न नसकेको उनको आरोप थियो ।

नेपाली कांग्रेसले युवालाई विदेश होइन, स्वदेश फर्काउने अभियान सञ्चालन गर्ने बताउँदै उनले पार्टीभित्रको परिवर्तन अभियानले कांग्रेसलाई युवामय बनाएको उल्लेख गरिन् । अब राष्ट्रको नेतृत्व युवाले गर्ने समय आएको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं कांग्रेस नेता किरणबाबु श्रेष्ठले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीमा नयाँ उत्साह थपेको बताए । २०१७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसमाथि धरपकड र पार्टी समाप्त पार्ने प्रयास भए पनि निरन्तर संघर्षकै कारण २०४६ सालमा प्रजातन्त्र स्थापना भएको उनले स्मरण गरे ।

अहिले पनि कांग्रेस र पार्टी नेतृत्वविरुद्ध प्रायोजित गतिविधि भइरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेस राष्ट्रिय शक्तिका रूपमा उभिएको बताए । पार्टीको भूमिका प्रभावकारी बनाउन सबै तहका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।

श्रेष्ठले बूढीगण्डकी बाढीबाट घरबारविहीन भएकाहरूले समेत छानो र पाल नपाएको भन्दै सरकारको बेवास्ताप्रति आपत्ति जनाए । उनले बाढी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन माग गरे ।

नेपाल विद्यार्थी संघकी केन्द्रीय अध्यक्ष करुणा कटुवालले कांग्रेस सभापतिमात्र नभई लाखौँ क्रियाशील सदस्यको समेत छानबिन गर्न सरकारलाई चुनौती दिइन् । बिना कारण राज्यशक्तिको आडमा तर्साउने काम नगर्न चेतावनी दिँदै उनले लोकतन्त्रमाथि खतरा उत्पन्न गर्ने गतिविधि भए नेविसंघ चुप लागेर नबस्ने बताइन् ।

कांग्रेस केन्द्रीय सदस्य जानुका पन्तले पनि वर्तमान सरकार लोकतन्त्र र स्वतन्त्रताविरुद्ध लागेको आरोप लगाइन् । लोकतन्त्रमाथि खतरा उत्पन्न गर्ने गतिविधि भए कांग्रेसका भ्रातृ संगठन सडकमा उत्रिने उनको भनाइ थियो ।

त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य इन्जिनियर दीपकबाबु कँडेलले नेविसंघले विभिन्न कठिन परिस्थितिमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । मुलुकमा महँगी र बेरोजगारी बढ्दै गए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको उल्लेख गर्दै उनले नागरिकलाई स्वदेशमै रोजगारी र अवसर उपलब्ध गराउने वातावरण निर्माणका लागि कांग्रेस र नेविसंघले काम गर्ने बताए ।

नेपाल विद्यार्थी संघ गोरखा–काठमाडौं सम्पर्क समितिका अध्यक्ष कमल पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू किरणबाबु श्रेष्ठ, जानुका पन्त र इन्जिनियर दीपकबाबु कँडेललगायतको उपस्थिति थियो । सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान, सम्मान तथा चियापान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?