आईक्यापको स्थायी कमिटी सदस्यमा कांग्रेसका उपसभापति विनोद चौधरी निर्वाचित

लोकपथ
70
Shares

काठमाडौं । अर्बपति व्यवसायी एवं नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्थायी कमिटी सदस्यमा निर्वाचित भएका छन् ।

दक्षिण कोरियाको राजधानी सिओल शहरमा जारी आईक्यापको १३औँ महासभाले चौधरीलाई स्थायी कमिटी सदस्य (स्ट्याण्डिङ कमिटी मेम्बर) मा निर्वाचित गरेको हो ।

उनले आइक्यापमार्फत् नेपालको दृष्टिकोण, प्राथमिकता र चासोलाई प्रभावकारी रुपमा प्रस्तुत गर्न एशियाभरका सहकर्मीहरुसँग मिलेर काम गर्ने बताएका छन् ।

‘स्थायी समितिमा नेपालको दृष्टिकोण, प्राथमिकता र चासोलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै एसियाभरिका सहकर्मीहरूसँग मिलेर लोकतान्त्रिक सुशासन सुदृढ गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा क्षेत्रीय संवादलाई सार्थक सहकार्यमा रूपान्तरण गर्ने दिशामा योगदान पुर्‍याउन म उत्साहित छु,’ चौधरीले सामाजिक सञ्जालमा भनेका छन् ।

एशियाका विभिन्न मुलुकका राजनीतिक दलका नेता तथा प्रतिनिधि सहभागी महासभाबाट चौधरी निर्वाचित हुनुले क्षेत्रीय राजनीतिक संवाद तथा सहकार्यमा नेपालको सहभागितालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

आईक्याप एसियाका विभिन्न राजनीतिक विचारधारा र पृष्ठभूमिका राजनीतिक दलबीच संवाद, सहकार्य र आपसी समझदारी प्रवर्द्धन गर्ने क्षेत्रीय मञ्च हो । यसको स्थायी कमिटीले संस्थाका गतिविधि सञ्चालन, नीति तथा कार्यक्रमको समन्वय र भावी कार्यदिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

स्थायी कमिटीमा भारतका पूर्वविदेशमन्त्री सलमान खुर्सिद, मलेसियाका व्यापार तथा जीवनयापन लागतसम्बन्धी उपमन्त्री डा. फुजिया सल्लेह, श्रीलंकाका यातायात, राजमार्ग तथा सहरी विकासमन्त्री एवं संसद्का नेता विमल रत्नायके र जापानको कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीकी अन्तर्राष्ट्रिय विभाग निर्देशक तथा हाउस अफ काउन्सिलर्सकी सदस्य माइको ताजिमालगायत एसियाका विभिन्न देशका वरिष्ठ राजनीतिक व्यक्तित्व रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?