तीन वर्षमै ७९ देशमा पुग्यो ओमोडा एण्ड जेइकु, बिक्री १४ लाख नाघ्यो

लोकपथ
7
Shares

काठमाडौं । चीनको वुहुमा आयोजना गरिएको ओमोडा एण्ड जेइकुको सन् २०२६ को अन्तर्राष्ट्रिय युजर समिट सम्पन्न भएको छ ।

अक्टोबर १८ देखि २४ सम्म सञ्चालन भएको समिटमा विश्वभरका ग्राहक, अटोमोबाइलप्रेमी, सञ्चारकर्मी तथा व्यावसायिक साझेदार सहभागी भएका थिए। समिटमा कम्पनीले आफ्ना नयाँ प्रविधि, सवारी साधन र भविष्यको स्मार्ट मोबिलिटीसम्बन्धी योजना प्रस्तुत गरेको थियो ।

समिटको मुख्य आकर्षण ओमोडा एक्सको विश्वव्यापी सार्वजनिक प्रस्तुति रहेको थियो । अक्टोबर २० मा सार्वजनिक गरिएको यो गाडीमा एसयूभीको सुविधा, अफरोड यात्राको क्षमता र स्पोर्ट्स कारको डिजाइनलाई समेटिएको कम्पनीले जनाएको छ। यसले शहरी जीवनशैलीसँगै साहसिक यात्राको अनुभव दिने कम्पनीको दाबी छ ।

समिटमा कम्पनीले आफ्नो सुपर हाइब्रिड प्रविधिमा भएका नयाँ विकास पनि सार्वजनिक गरेको थियो । साथै, ओमोडा ५ नेक्स्ट सुपर हाइब्रिड गाडीको इन्धन दक्षता प्रदर्शन गरिएको थियो । उक्त गाडीले प्रति १०० किलोमिटर ४.५ लिटर इन्धन खपत गर्दै एकै ट्याङ्कीमा १ हजार १५ किलोमिटर यात्रा गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, कार्यक्रममा स्मार्ट ड्राइभिङ र कृत्रिम बौद्धिकता (एआई) मा आधारित नयाँ प्रविधिहरू पनि प्रदर्शन गरिएको थियो । यी प्रविधिले गाडीलाई अझ सुरक्षित, सहज र चालकको आवश्यकताअनुसार चलाउन सहयोग गर्ने कम्पनीको भनाइ छ ।

समिटमा विभिन्न देशका ग्राहकबीच अन्तरक्रिया तथा सहकार्यका कार्यक्रम पनि आयोजना गरिएको थियो । ग्राहकको सुझाव र आवश्यकतालाई ध्यानमा राखेर नयाँ उत्पादन तथा प्रविधि विकास गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

स्थापना भएको तीन वर्षमै ओमोडा एण्ड जेइकु विश्वका ७९ देशमा विस्तार भएको छ। यसमा युरोपका २३ देश समावेश छन्। कम्पनीका अनुसार हालसम्म ब्रान्डका १४ लाखभन्दा बढी गाडी बिक्री भइसकेका छन् ।

नेपालमा एसपीसीजी अटोमोबाइल्स प्रालि ओमोडा एण्ड जेइकुको आधिकारिक वितरकका रूपमा रहेको छ । कम्पनीले नेपाली बजारमा पनि आधुनिक प्रविधि र नयाँ मोबिलिटी समाधानसहितका सवारी साधन उपलब्ध गराउँदै आएको छ ।

समिटले ओमोडा एण्ड जेइकुले सवारी साधनलाई यातायातको माध्यममा मात्र सीमित नराखी आधुनिक प्रविधि र जीवनशैलीसँग जोड्ने लक्ष्य राखेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?