काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज काग तिहार मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा कागलाई यमराजको दूतका रूपमा सम्मान गर्दै मीठा खानेकुरा दिएर पूजा गर्ने परम्परा छ ।
वैदिक सनातन हिन्दू धर्मअनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा लिइन्छ । यमराजले पृथ्वीमा रहेका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म र मृत्युको विवरण राख्ने तथा त्यससम्बन्धी सन्देश आदानप्रदान गर्ने जिम्मेवारी कागलाई दिएको धार्मिक विश्वास छ ।
कागले सन्देश ल्याउने र लैजाने भएकाले नेपाली समाजमा काग कराउनुलाई कुनै खबर आउने वा पाहुना आउने संकेतका रूपमा समेत लिने गरिन्छ । यही धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार आज कागलाई घरआँगनमा बोलाएर विभिन्न परिकार खान दिने चलन छ । कागलाई खाना नदिई आफूले भोजन गरे पाप लाग्ने धार्मिक विश्वाससमेत रहिआएको छ ।
कागको पूजा गर्दा यमराजको दूतका रूपमा रहेको कागलाई प्रसन्न पारेर यमदण्ड तथा संकटबाट मुक्ति मिलोस् भन्ने कामना गरिन्छ । यस अवसरमा धार्मिक मन्त्र पाठ गर्ने परम्परा पनि छ ।
तिहार पाँच दिनसम्म मनाइने पर्व हो । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक कार्तिक शुक्ल द्वितीयासम्म चल्छ । यस अवधिमा काग, कुकुर, गाई, गोरु तथा गोवर्द्धन पूजा गर्नुका साथै दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई विशेष महत्व दिइन्छ ।
काग तिहारकै दिनदेखि यमदीप दान गर्ने परम्परा पनि छ । धार्मिक मान्यताअनुसार साँझमा दक्षिण दिशातर्फ फर्काएर यमदीप दान गर्दा यम यातनाबाट मुक्ति मिल्ने विश्वास गरिन्छ । परिवारका सदस्यको संख्याअनुसार दीपदान गरी यमराजलाई प्रसन्न पार्ने धार्मिक विधि रहेको छ ।
तिहारमा बलि राजाको पूजा गर्ने परम्परा पनि छ । पौराणिक कथाअनुसार असुरराज बलि आफ्नो दानशीलताका कारण प्रसिद्ध थिए । उनको प्रभाव बढ्दै गएपछि भगवान् विष्णुले वामन अवतार लिएर ब्राह्मणको भेषमा बलिसँग तीन पाउ जमिन मागेका थिए ।
बलिले दान दिन स्वीकार गरेपछि भगवान् विष्णुले पहिलो पाउले अन्तरिक्ष र दोस्रो पाउले पृथ्वी ढाकेका थिए । तेस्रो पाउ राख्ने ठाउँ माग्दा बलिले आफ्नो शिर अर्पण गरेका थिए । त्यसपछि विष्णुले उनलाई पातालमा पुर्याएको कथा पुराणहरूमा उल्लेख छ ।
बलिको दानशीलताबाट प्रसन्न भएका भगवान् विष्णुले उनलाई वर्षमा पाँच दिन पृथ्वीमा शासन गर्ने वरदान दिएको धार्मिक विश्वास छ । यही मान्यताका आधारमा यमपञ्चकका अवसरमा बलि राजाको समेत पूजा गर्ने परम्परा रहिआएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया