सामाजिक सञ्जाल व्यवस्थित गर्न नेकपाको सर्कुलर, के–के छन् निर्देशन ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमको प्रयोगलाई व्यवस्थित बनाउने भएको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हालै जारी गरेको सर्कुलरमा पार्टीको प्रचारप्रसार र डिजिटल सञ्चारलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।

पार्टीले सञ्चालन गर्न लागेको दुईमहिने अभियानलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गर्न लागिएको हो । सर्कुलरमा पार्टीका सबै तहले आधिकारिक डिजिटल सञ्चार माध्यमलाई व्यवस्थित गर्नुपर्ने उल्लेख छ । साथै, अभियानका निर्णय, कार्यक्रम, गतिविधि, उपलब्धि र जनतासँग सम्बन्धित विषय नियमित रूपमा सार्वजनिक गर्न भनिएको छ ।

पार्टीले सामाजिक सञ्जाल, वेबसाइट, डिजिटल बुलेटिनलगायत माध्यमको प्रभावकारी प्रयोग गर्न निर्देशन दिएको छ । तथ्यहीन, भ्रमपूर्ण वा गलत सूचना फैलिएको अवस्थामा त्यसको तथ्यका आधारमा खण्डन गर्न र पार्टीका आधिकारिक सामग्रीलाई एकरूप तथा विश्वसनीय ढङ्गले सार्वजनिक गर्न पनि भनिएको छ ।

त्यस्तै, अभियानका सबै कार्यक्रम शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक विधिअनुसार सञ्चालन गर्नुपर्ने सर्कुलरमा उल्लेख छ । व्यक्तिगत आरोप लगाउने, चरित्रहत्या गर्ने, अपुष्ट सूचना फैलाउने र तथ्यहीन प्रचार गर्ने कामबाट टाढा रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिइएको छ ।

सर्कुलरमा अभियानका नाममा व्यक्तिगत आर्थिक लाभ लिने वा अनुचित प्रभाव प्रयोग गर्ने काम नगर्न पनि भनिएको छ । पार्टीको आधिकारिक निर्णय र निर्देशनबिना संवेदनशील राजनीतिक विषयमा धारणा सार्वजनिक नगर्न निर्देशन दिइएको छ ।

त्यसैगरी, महिला, दलित, जनजाति, मधेसी, अल्पसङ्ख्यकलगायत सबै समुदायप्रति सम्मानजनक व्यवहार गर्न र जनताको विश्वास, सम्मान तथा गोपनीयता कायम राख्न पार्टीपंक्तिलाई आग्रह गरिएको छ ।

पार्टीको नीति, विधान र संगठनात्मक अनुशासनविपरीतका गतिविधि भएमा सम्बन्धित निकायलाई जानकारी गराउन पनि सर्कुलरमार्फत निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?