काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ ।
बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द हुँदा निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आवको भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट भएको कारोबार बढेको हो ।
प्राधिकरणका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ । उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
भारतको हरियाणा र बिहार राज्यमा द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार विद्युत् बिक्री गरिएको थियो । बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ ।
गत वर्षको असोजमा भारततर्फ ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो । चालु आवको भदौमा भने ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो ।
यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार ९६ करोड २० लाख रुपैयाँ र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढेको छ ।
चालु आवको साउन, भदौ र असोज तीन महिनामा भारततर्फ विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीका कारण केही आयोजनाको उत्पादन बन्द भए पनि अन्य आयोजनाबाट विद्युत् निर्यातलाई निरन्तरता दिन सकिएको बताए । उनका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको विद्युत्मध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आईईएक्समार्फत बिक्री गरिएको थियो ।
बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु
भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु भएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बङ्गलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रको विद्युत् बङ्गलादेशतर्फ निर्यात गर्न स्वीकृति पाएपछि कात्तिक ६ गते साँझदेखि निर्यात पुनः सुरु भएको प्राधिकरणले जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमेको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेश तथा हरियानातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ ।
नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते भएको पाँचवर्षीय सम्झौताअनुसार हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात हुँदै आएको छ ।
निर्यात क्षमता १ हजार १७९ मेगावाट
यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ ।
नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।
बाढीका कारण आयोजनामा क्षति पुगे पनि अन्य आयोजनाबाट निर्यातलाई निरन्तरता दिन सकिनु र बङ्गलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत् व्यापारका लागि महत्वपूर्ण उपलब्धि भएको प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया