काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानी सुविधा विस्तार गर्ने सम्झौता भएको छ ।
असोज ३० गते भएको सम्झौतासँगै डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यले पनि कार्डमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । एससीटीका अनुसार कार्ड सेवा सुरु गर्ने डिप्रोक्स पहिलो लघुवित्त संस्था हो ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटी र ‘घ’ वर्गको इजाजतपत्र प्राप्त डिप्रोक्स लघुवित्तबीच यो सम्झौता भएको हो ।
सम्झौतापछि डिप्रोक्सका ग्राहक तथा सदस्यले वाणिज्य बैंक र विकास बैंकका ग्राहकसरह कार्ड सुविधा तथा आधुनिक डिजिटल भुक्तानी सेवा उपयोग गर्न पाउनेछन् । एससीटीले सञ्चालन गर्दै आएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको सञ्जालमार्फत डिप्रोक्सले आफ्ना सेवाग्राहीलाई यस्तो सुविधा उपलब्ध गराउनेछ ।
यस सहकार्यले विशेषगरी ग्रामीण क्षेत्र तथा विपन्न वर्गका मानिसलाई आधुनिक वित्तीय प्रविधि र डिजिटल भुक्तानी सेवामा जोड्न सहयोग पुग्ने दुवै संस्थाको विश्वास छ ।
लघुवित्तका ग्राहकलाई कार्ड सेवामा आबद्ध गराउनु वित्तीय समावेशीकरण र डिजिटल वित्तीय प्रणालीको विकासका लागि महत्त्वपूर्ण कदम भएको एससीटीले जनाएको छ ।
‘नेटवर्क फर अल’ भन्ने मूलमन्त्रसहित अघि बढिरहेको एससीटीले यस सहकार्यबाट लघुवित्त क्षेत्रका सेवाग्राहीलाई सुरक्षित, सहज र आधुनिक डिजिटल भुक्तानी सेवामा पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया