बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ जना घाइते

लोकपथ
196
Shares

काठमाडौं । बाँकेको राप्तिसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्ज जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा कोहलपुरबाट काठमाडौं आउँदै गरेको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौं बस्दै आएका शाहीलाई उपचारका क्रममा बिहान १० बजेर ८ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाही सामान्य घाइते भएका छन् । कार चालक ४५ वर्षीय नरेन्द्रबहादुर शाहीको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ ।

त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दोस्रो कारका चालक करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन । उनलाई इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका कारण अवरुद्ध भएको राजमार्ग बिहान १० बजेर १५ मिनेटमा पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?