सूर्यज्योति लाइफले सञ्चालनमा ल्यायो ‘कस्टमर ३६०’, अब अनलाइनबाटै केवाईसी अद्यावधिक गर्न सकिने

लोकपथ
0
Shares

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको व्यक्तिगत पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न ‘कस्टमर ३६०’ नामक डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ ।

कम्पनीका अनुसार यस पोर्टलमार्फत ग्राहकले आफ्नो केवाईसी विवरण अद्यावधिक गर्न, बीमालेखसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न तथा दर्ता भएका बीमा दाबीको अवस्था हेर्न सक्नेछन् । डिजिटल प्रविधिको प्रयोगमार्फत बीमासम्बन्धी सेवा सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले पोर्टल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्ना सम्पूर्ण ग्राहकलाई पोर्टलमा लगइन गरी व्यक्तिगत विवरण जाँच गर्न र आवश्यकताअनुसार केवाईसी अद्यावधिक गर्न आग्रह गरेको छ ।

यसरी गर्न सकिन्छ केवाईसी अद्यावधिक

ग्राहकले सूर्यज्योति लाइफको आधिकारिक वेबसाइट suryajyotilife.com मा गएर ‘कस्टमर ३६०’ विकल्पमा क्लिक गरी प्रक्रिया सुरु गर्न सक्नेछन् । त्यसपछि कम्पनीमा दर्ता भएको मोबाइल नम्बर वा इमेल ठेगाना प्रयोग गरेर लगइन गर्न सकिनेछ ।

पहिलोपटक लगइन गर्ने ग्राहकले ‘फरगेट पासवर्ड’ विकल्पमार्फत पासवर्ड सेट गर्न वा ओटीपी प्रयोग गरेर लगइन गर्न सक्नेछन् । लगइन गरेपछि ‘केवाईसी डिटेल्स’ मा गई आफ्नो व्यक्तिगत विवरण जाँच गर्न र आवश्यक विवरण अद्यावधिक गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकको व्यक्तिगत विवरण अद्यावधिक रहँदा बीमासम्बन्धी सेवा तथा अन्य आवश्यक प्रक्रिया सहज र प्रभावकारी हुने कम्पनीको विश्वास छ ।

पोर्टल प्रयोग गर्दा वा केवाईसी विवरण अद्यावधिक गर्ने क्रममा कुनै समस्या आएमा ग्राहकले इमेल, ह्वाट्सएप, फेसबुक, ल्यान्डलाइन, नजिकको शाखा कार्यालय वा कम्पनीको केन्द्रीय कार्यालयमार्फत सम्पर्क गर्न सक्नेछन् ।

कम्पनीले ‘कस्टमर ३६०’ लाई ग्राहकका लागि एकीकृत डिजिटल सेवा केन्द्रका रूपमा विकास गरेको जनाएको छ । ग्राहकले बीमासम्बन्धी जानकारी तथा सेवा डिजिटल माध्यमबाट सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यस प्लेटफर्ममा उपलब्ध सेवाहरूलाई आवश्यकताअनुसार विस्तार गर्दै लैजाने कम्पनीको योजना छ ।

कम्पनीका अनुसार यस डिजिटल सेवाले बीमासम्बन्धी जानकारीमा ग्राहकको पहुँच बढाउनुका साथै सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउन सहयोग पुर्‍याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?