बैंकिङ प्रणालीमा थुप्रिएको पैसा तान्दै राष्ट्र बैंक, आज ३० अर्बको बोलकबोल

लोकपथ
0
Shares

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट २८ दिनका लागि ३० अर्ब रुपैयाँ तान्न लागेको हो । यसका लागि आज असोज २१ गते अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुनेछ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् ।

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । बोलकबोल रकम १० करोड रुपैयाँले निःशेष भाग जाने हुनुपर्नेछ ।

राष्ट्र बैंकले २८ दिनका लागि संकलन गर्ने उक्त निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक १८ गते भुक्तानी गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?