काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको हो ।
प्रतियोगिताको हरेक संस्करण बृहद् बन्दै गएकाले दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई विगतभन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको उनले बताए ।
‘तयारीको अन्तिम चरणमा छौँ । प्रतियोगितालाई राम्रोसँग सम्पन्न गर्नुपर्ने अपेक्षा धेरै छ । प्रतियोगिता जति ठूलो हुँदै गयो, त्यति नै हाम्रो जिम्मेवारी पनि बढेको छ,’ सचिव खड्काले भने, ‘दसँैसम्म सबै काम सकेर तेस्रो संस्करणका लागि पूर्ण रूपमा तयार हुने हाम्रो योजना छ ।’
गत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै यस पटक मैदानमा केही नयाँ संरचना थपिने भएका छन् । एनपीएलका खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने प्रयास गरिएको सचिव खड्काले जानकारी दिए । मैदान परिसरमा थप दर्शक अटाउन मिल्ने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको उनको भनाइ छ ।
यसैगरी, मैदान प्रवेश गर्ने बाटो तथा गेट व्यवस्थापनमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सुधारको पहल भइरहेको सचिव खड्काले बताए । टिकट लिएर मैदान पुग्ने दर्शकलाई प्रवेशदेखि खेल हेरेर फर्किंदासम्म सहज वातावरण मिलाउने गरी व्यवस्थापनमा विशेष ध्यान दिइएको क्यानले जनाएको छ ।
गत संस्करणमा दर्शकले शौचालय तथा आवतजावतका क्रममा धुलोलगायतका समस्या भोग्नु परेको थियो । यसपटक त्यस्ता समस्या दोहोरिन नदिन क्यानले पहल गरेको सचिव खड्काले बताए ।
दसैँलगत्तै एनपीएल
दसैँ–तिहारको बीचमा एनपिएल आयोजना हुँदा दर्शकको उपस्थिति प्रभावित हुन सक्ने आकलन भए पनि नेपाल क्रिकेट संघ (क्यान) भने यसप्रति धेरै चिन्तित छैन । क्यानका सचिव खड्का नेपाली क्रिकेटको ‘फ्यान बेस’ बलियो भएकाले चाडपर्वको समय भए पनि दर्शकको उत्साहमा कमी नआउने विश्वास व्यक्त गर्छन् ।
उनका अनुसार एनपीएलको मिति तय गर्दा अन्तरराष्ट्रिय क्रिकेट र अन्य फ्रेन्चाइज लिगको तालिका तथा विदेशी खेलाडीको उपलब्धतालाई मुख्य आधार बनाइएको हो । यी सबै पक्षलाई हेर्दा यस वर्षका लागि दसैँ–तिहारको बीचको समय नै प्रतियोगिता आयोजना गर्नु उपयुक्त देखिएको उनको भनाइ छ ।
तेस्रो संस्करणमा सहभागी टोलीले अन्तरराष्ट्रिय क्रिकेटका चर्चित खेलाडीलाई अनुबन्ध गर्ने क्रम तीव्र पारेका छन् । विदेशी खेलाडीको उपस्थितिले यसपटक एनपीएलप्रति दर्शकको आकर्षण थप बढ्ने क्यानको अपेक्षा छ । टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई आफ्नै मैदानमा प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म तान्ने सचिव खड्काको विश्वास छ ।
‘यसपालि ठूलाभन्दा ठूला खेलाडी हरेक टोलीले ल्याइरहेका छन् । टिभीमा हेरिरहेका खेलाडीलाई अब कीर्तिपुर अन्तरराष्ट्रिय क्रिकेट मैदानमै प्रत्यक्ष देख्न सक्ने अवस्था बनेको छ,’ उनले भने ।
एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया