महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी : महालक्ष्मी उपाध्याय ‘डिना’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्र अझै पनि महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुन नसकेको बताएकी छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला तर्फबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यायले पार्टीको शुद्धीकरणसँगै महिलासहित सबै समावेशी समूहको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आफूले उम्मेदवारी दिएको बताइन् ।

उनले कांग्रेसले संविधानमा स्वीकार गरेको समावेशी सिद्धान्तलाई पार्टीको संगठनमा भने व्यवहारिक रूपमा कार्यान्वयन गर्न नसकेको बताइन् । सबै समूह र विचारलाई समेट्ने पार्टी निर्माण आफ्नो मुख्य प्रतिबद्धता रहेको उनको भनाइ छ ।

‘नेपाली कांग्रेस पार्टीको शुद्धीकरण, संगठन शुद्धीकरण र महिलाहरूको नेतृत्व तहमा पुगेर महिलाहरूको अर्थपूर्ण सहभागिताका लागि मैले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ,’ उनले भनिन्, ‘महिलाहरूको अधिकारलाई संरक्षण गर्दै हिजो हामीले संविधानसभामा बसेर लेख्यौँ । तर पार्टीभित्र महिलाहरूको अर्थपूर्ण सहभागिता नहुँदा कार्यान्वयन पक्ष फितलो भएको छ ।’

कांग्रेसले लिएको समावेशी सिद्धान्तलाई संविधानमा मात्रै सीमित नराखी पार्टीको संगठनमा समेत प्रत्याभूत गर्नुपर्नेमा उनले जोड दिइन् ।

‘नेपाली कांग्रेसले लिएको सिद्धान्त भनेको समावेशीको सिद्धान्त हो । त्यही नेपाली कांग्रेसको सिद्धान्तलाई नै अहिले हामीले संविधानमा लेख्यौँ, तर पार्टीमा हामीले त्यसलाई प्रत्याभूति गराउन सकेनौँ,’ उनले भनिन् ।

उनले देशभरबाट आएको माग र आवश्यकताका आधारमा कांग्रेसको पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाइएको बताइन् । यद्यपि, पदाधिकारी तथा केन्द्रीय समितिको संख्या बढाइएको विषयमा पार्टीभित्र आलोचना भइरहेको उनले स्वीकार गरिन् ।

अन्य राजनीतिक दलको तुलनामा कांग्रेसको केन्द्रीय समितिको संख्या अझै कम रहेको उनको दाबी छ । ठूलो संख्याको केन्द्रीय समितिले प्रभावकारी रूपमा काम गरेर पार्टी निर्माणमा परिणाम दिन सके त्यसप्रतिको विरोध पनि अन्त्य हुने उनले बताइन् ।

‘अहिलेको आवश्यकता र मागबमोजिम देशभरबाट केन्द्रीय समितिमा काम गर्छु भन्नेहरूको संख्या बढेको भएर केही संख्या बढाइएको हो । अन्य राजनीतिक पार्टीको तुलनामा हाम्रो संख्या अहिले पनि कमै छ,’ उनले भनिन्, ‘भोलि यति संख्याले काम गर्दा साँच्चिकै पार्टी बन्दो रहेछ भन्ने प्रत्याभूति गराउन सकियो भने यो विरोधाभास अन्त्य हुन्छ ।’

उपाध्याय १४औँ महाधिवेशनबाट कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन् । सहमहामन्त्रीका रूपमा काम गरिसकेको अनुभवका आधारमा यसपटक महामन्त्रीमा आफ्नो दाबी स्वाभाविक रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?