कांग्रेस १५औँ महाधिवेशन : बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

लोकपथ
7
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।

आइतबार काठमाडौंको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्दसत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार खुलामञ्चमा केही बेरमा केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बन्दसत्रमा पेस हुने प्रतिवेदनहरू केन्द्रीय कार्यसमितिबाट पारित भएपछि मात्र बन्दसत्र सुरु हुनेछ ।

उनका अनुसार विभिन्न समितिले तयार पारेका प्रस्ताव बैठकमा पेस हुनेछन् र त्यसका आधारमा बन्दसत्रका एजेन्डा अनुमोदन गरिनेछ ।

बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रस्ताव तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ । त्यसपछि पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेछ ।

बन्दसत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

महाधिवेशन निर्वाचन समितिले आज साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । नामावली प्रकाशनपछि त्यसउपर दाबी विरोध तथा छानबिनको प्रक्रिया अघि बढाइनेछ । दाबी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक तयारीसमेत अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?