काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाईली ‘स्नेही’ले पार्टीको १५औँ महाधिवेशनमा दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् ।
कांग्रेसको विशेष महाधिवेशनबाट दलित समावेशीतर्फ सहमहामन्त्री बनेका रसाईलीले सभापति गगनकुमार थापाको नेतृत्वमा पुनः सोही पदमा उम्मेदवारी दिने बताएका हुन् ।
सभापति थापाको नेतृत्वमा कांग्रेसलाई बलियो जनमतसहितको पार्टीका रूपमा पुनः स्थापित गर्ने लक्ष्य रहेको उनले बताए । महाधिवेशनले पार्टीको आन्तरिक जीवनसँगै राष्ट्रिय राजनीतिमा देखिएका चुनौती सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
‘१५औँ महाधिवेशन ऐतिहासिक महाधिवेशन मात्र होइन, यसले नेपाली कांग्रेसको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिमा देखिएका चुनौती सामना गर्दै पार्टी र मुलुकलाई नयाँ जीवन दिन कोशेढुंगा सावित हुनेछ,’ रसाईलीले भने ।
उनले नागरिकमा बढेको निराशा अन्त्य गर्दै बलियो कांग्रेसमार्फत मुलुकको समृद्धिको यात्रा अघि बढाउन महाधिवेशन महत्वपूर्ण हुने बताए ।
रसाईलीले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले पार्टीमा सबै जातजाति, वर्ग, लिङ्ग, धर्म र समुदायको प्रतिनिधित्व हुने गरी समावेशी राजनीतिक चरित्र निर्माण गरेको उल्लेख गरे । वर्तमान नेतृत्वले पनि नेपालको विविधता प्रतिबिम्बित हुने गरी पार्टीको विधान र संरचना निर्माण गरेको उनको दाबी छ ।
सभापति थापाको नेतृत्वमा पार्टीलाई अघि बढाउन उपसभापति विश्वप्रकाश शर्मासहित नेतृत्वपंक्तिसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
रसाईली कांग्रेसको १४औँ महाधिवेशनमा दलित समावेशीतर्फबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । १५औँ महाधिवेशनका लागि उनी बझाङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया