काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम आजदेखि सुरू हुने भएको छ । खुलामञ्चमा आइतबारदेखि सुरू भएको महाधिवेशनमा आज बन्दसत्र हुन लागेको हो । आज बिहान १० बजे केन्द्रीय कार्यसमिति बैठकपछि बन्दसत्र सुरू हुने जनाइएको छ । बन्दसत्रपछि आज साँझदेखि नै निर्वाचन कार्यक्रम सुरू हुने भएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार आज असोज १९ गते बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । यस्तै, बेलुका ५ देखि ६ः३० बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध गर्न सकिनेछ । दाबी विरोधउपर ६ः३० देखि ७ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
उम्मेदवारीका लागि दरखास्त तथा मनोनयनपत्र दर्ता भोलि २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिन दिउँसो ४ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारको दरखास्तउपर ४ः३० देखि ५ः३० बजेसम्म दाबी विरोध र ५ः३० देखि ६ः३० बजेसम्म त्यसउपर जाँचबुझ गरिनेछ ।
उम्मेदवारको दोस्रो नामावली भोलि नै प्रकाशित हुनेछ । भोलि असोज २० गते बेलुका ७ बजे प्रकाशन हुनेछ । असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन तथा उम्मेदवारी सच्याउन निवेदन दिन सकिनेछ । त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारलाई सोही दिन दिनभर प्रचारप्रसारका लागि समय दिइनेछ ।
असोज २२ गते बिहान ७ः३० बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । मतदान राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, खुलामञ्च र प्रज्ञा भवन कमलादीमा तोकिएका केन्द्रमा हुनेछ ।
सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम एवं भातृ एवं शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिका प्रतिनिधिहरूले मतदान गर्नेछन् । प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछैन । एक प्रतिनिधिलाई मतदानका लागि करिब ५० मिनेट लाग्न सक्नेछ । मतदान सकिएपछि मतगणना सुरू हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया