वर्षाका कारण सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित

लोकपथ
7
Shares

काठमाडौं । लगातारको वर्षाका कारण प्रदेश राजधानी वीरेन्द्रनगरसहित सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ ।

वर्षाका कारण विद्युत् प्रसारण लाइनका पोलमा रुख ढलेपछि जिल्लाका धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सुर्खेतले जनाएको छ ।

प्राधिकरणका अनुसार सुब्बाकुना–रामघाट ३३ केभी लाइनमा रुख ढलेर विद्युत् सेवा अवरुद्ध भएको छ । रुख हटाएर मर्मतको काम भइरहेको र उक्त लाइन छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, लम्की–बाबियाचौर ३३ केभी लाइनमा रुख ढल्दा ठूलो क्षति पुगेको छ । त्यस क्षेत्रमा तत्काल विद्युत् सेवा सञ्चालन गर्न नसकिने प्राधिकरणले जनाएको छ । विद्युत् सेवा सञ्चालनका लागि सुर्खेत–बाबियाचौर ३३ केभी लाइनको फल्ट हटाउने प्रयास भइरहेको छ ।

वीरेन्द्रनगर बजार फिडरको ११ केभी लाइनको पोल ढलेपछि केही क्षेत्रमा मात्र विद्युत् सेवा सञ्चालनमा छ । पोल मर्मत गरेपछि फिडर पूर्ण रूपमा सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ ।

सीतापाइला फिडरमा पनि फल्ट देखिएको छ । फल्ट पत्ता लगाएर विद्युत् सेवा सञ्चालनमा ल्याउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?