राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा ‘अब्जर्भरशिप’ खोल्न सांसद डा. लेखजंग थापाको प्रस्ताव

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.लेखजंग थापाले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई शैक्षिक ‘लर्निङ प्लेटफर्म’ का रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्दै उनले प्रयोगशालामा विज्ञ तथा विद्यार्थीलाई ‘अब्जर्भर’ का रूपमा अध्ययन र अवलोकन गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

सांसद थापाले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला शैक्षिक संस्था नभए पनि त्यहाँ हुने उच्चस्तरीय कामबाट विज्ञ तथा विद्यार्थीले धेरै कुरा सिक्न सक्ने बताए । त्यसैले अध्ययन, प्रशिक्षण र अनुभवका लागि प्रयोगशालामा आउने व्यक्तिका लागि स्पष्ट व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

उनले अब्जर्भरका रूपमा आउने व्यक्तिबाट शुल्क लिने वा नलिने विषय पनि विधेयकमै स्पष्ट गर्नुपर्ने बताए । विदेशमा अध्ययन वा अब्जर्भरशिपका लागि शुल्क तिर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै नेपालमा पनि यस्ता विषयलाई व्यवस्थित गर्नुपर्ने उनको धारणा थियो ।

थापाले अब्जर्भर, प्रशिक्षण तथा अध्ययनसम्बन्धी स्पष्ट व्यवस्था गर्दा प्रयोगशालाको सञ्चालन र नियमनमा समेत सहयोग पुग्ने बताए । यस्तो अभ्यासले प्रयोगशालालाई दीर्घकालीन रूपमा थप व्यवस्थित बनाउन मद्दत गर्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?