पूर्णबहादुरले भने– ‘गगनजी सोच्नुस्, नत्र कांग्रेसपछि एमाले र नेकपा पनि विभाजन हुनेछन्’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी १५औँ महाधिवेशनको मिति सारेर सबैलाई समेटेर अघि बढ्न सुझाव दिएका छन् ।

पार्टीको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा रहेको कांग्रेसमा देखिएको किचलोका कारण पार्टी थप संकटमा पर्ने भन्दै खड्काले सभापति गगन थापालाई सोचेर अघि बढ्न सुझाव दिए ।

देउवा समूहबाट संस्थापनसँग मिलेर अघि बढ्न तयार रहेका खड्काले आगामी असोज १६ गतेबाट सुरु हुन लागेको महाधिवेशनमा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने सुझाव दिए ।

‘गम्भीर रुपमा आत्मसमिक्षा गर्दै एकपटक पुनः घोत्लिनुस १ समय बलबान हुन्छ, पुनः कठोर संकल्प गर्नुस । अशोज ३ गतेदेखि प्रारम्भ गर्ने गरि घोषणा गरेको १५ औँ अधिवेशनको कार्यतालिका स्थगन गरी केही समयको लागि सार्नुस,’ सुझाव दिँदै उनले भनेका छन्, ‘तपाईंले पार्टीमा आज गर्नु भएको निर्णयको बलियो जगमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति आदरणीय शीर्ष नेता शेरबहादुर देउवाज्यु अनि अग्रज नेताहरुसँग आफ्नै अग्रसरतामा वार्ता–संवाद तत्काल प्रारम्भ गर्नुस , मलाई आत्मविश्वास छ पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ ।’
पूर्वउपप्रधानमन्त्री समेत भइसकेका नेता खड्काले कांग्रेसमा दुई वटा महाधिवेशन भएमा त्यसले पार्टीलाई विभाजन गर्ने र त्यसको असर अन्य लोकतान्त्रिक शक्तिहरुमा समेत देखा पर्ने खुलासा गरे । कांग्रेस विभाजन भएमा संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका एमाले, तत्कालीन माओवादी (हाल नेकपा) लगायतका दलहरु समेत विभाजनको चपेटामा पर्ने दाबी गरे ।

‘…अन्यथा २ वटा अलगअलग अधिवेशन रोकिएन भने कांग्रेस पार्टीको विभाजन कसैले रोक्न सक्ने छैन,’ उनले भने, ‘मेरो अन्तरमनले भन्छ कांग्रेस पार्टीको बिभाजनको केही महिना भित्र नेकपा एमाले, नेपाली कम्युनस्ट पार्टी लगायत बिशेषगरि संविधान निर्माणमा महत्वपूर्ण भूमिका रहेका दलहरु बिभाजन हुने छन्, गरिने छन् ।’

उनले लोकतान्त्रिक शक्तिहरु कमजोर हुँदा भदौ २४ भन्दा भयानक रुपमा जातीय र धार्मिक द्वन्द्व फैलिने डर रहेको बताए ।

सिंगो एकतावद्ध कांग्रेसको सभापति बन्न गगनलाई सुझाव दिँदै उनले त्यसमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?