सानेपाबाट गगनको अपिल– ‘देउवाजी, महाधिवेशन उद्घाटनमा आउनुहोस्’

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताएका छन् ।

बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वपदाधिकारीहरूलाई महाधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन सार्वजनिक अपिल गरे ।

‘कतिपय साथीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुपर्छ भन्नुभएको छ । मेरो पनि अनुरोध छ– महाधिवेशन उद्घाटनमा आउनुहोस्,’ थापाले भने ।

उनले पूर्वसभापति देउवासँग मिलेर अधिवेशन सम्पन्न गर्न कुनै समस्या नरहेको बताए । पार्टीको बृहत्तर एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गर्न तयार रहेको उनको भनाइ छ ।

‘म पूर्वसभापति देउवालाई विशेष अनुरोध गर्न चाहन्छु हामी सँगै बसेर अधिवेशन गर्न नपर्ने कुनै कारण छैन । पार्टीको बृहत्तर एकताका लागि मेरो तर्फबाट गर्नुपर्ने सबै कुरा गर्न म तयार छु,’ उनले भने ।

सभापति थापाले आफू पार्टीको विधान, संविधान र विधिबाट निर्देशित रहेको स्पष्ट पार्दै तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुने बताए ।

कांग्रेसको कार्यतालिकाअनुसार वडा अधिवेशन आगामी असोज ३ र ४ गते हुँदैछ । त्यसपछि विभिन्न तहका अधिवेशन सम्पन्न गरी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी कांग्रेसको छ ।

आजको केन्द्रीय कार्यसमिति बैठकमा देउवानिकट नेताहरूको समेत उपस्थिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?