काठमाडौं । करदातालाई नियमित रूपमा कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका ३३ जना विजेताको नाम सार्वजनिक गरिएको छ ।
आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा बिहीबार आयोजित कार्यक्रममा भदौ महिनामा घोषणा हुन बाँकी सबै विजेताको नतिजा एकैपटक सार्वजनिक गरिएको हो ।
विभागका अनुसार नियमिततर्फ छनोट भएका ३१ जना विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, दुई जना बम्पर विजेताले प्रतिव्यक्ति १० लाख रुपैयाँ पाउनेछन् ।
भदौ १ देखि १५ गतेसम्म भएको कारोबारका आधारमा १५ जना नियमित र एक जना बम्पर विजेता छनोट भएका छन् । यस्तै, भदौ १६ देखि ३१ गतेसम्मको कारोबारका आधारमा थप १६ जना नियमित र एक जना बम्पर विजेता छनोट गरिएको विभागले जनाएको छ ।
यसरी भदौ महिनामा कुल ३१ जना नियमित र दुई जना बम्पर गरी ३३ जना विजेता छनोट भएका हुन् ।
भदौ १६ गतेका लागि तय गरिएको उपहार विजेता छनोट तथा घोषणा कार्यक्रम रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण स्थगित भएको थियो । त्यसका कारण सो दिन सार्वजनिक हुनुपर्ने नतिजा पनि रोकिएको थियो ।
स्थगित कार्यक्रमबाट घोषणा हुन बाँकी विजेतासहित भदौ महिनाका सबै विजेताको नतिजा असोज १ गते आयोजित कार्यक्रममा सार्वजनिक गरिएको विभागले जनाएको छ ।
विजेता करदाताले आफूलाई उपलब्ध गराइएको कुपन नम्बरमार्फत पुरस्कारको नतिजा हेर्न सक्नेछन् । मोबाइल बैंकिङ वा डिजिटल वालेटबाट प्राप्त कुपन नम्बरका आधारमा विभागले तोकेको माध्यमबाट आफ्नो नाम र पुरस्कारबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८३/८४ देखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो । कार्यक्रमअन्तर्गत प्रत्येक महिनाको १ गते र १६ गते उपहार विजेता छनोट तथा घोषणा गर्ने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया