फिफाको निलम्बनले खेलाडी र कर्मचारी प्रभावित, सोमबारदेखि गतिविधि अघि बढाउने एन्फाको तयारी

लोकपथ
0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सरकारका तर्फबाट तत्काल सकारात्मक पहल नभए सोमबारदेखि फिफाको निर्देशनअनुसार संघका नियमित तथा अत्यावश्यक गतिविधि अघि बढाउने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राईले फिफाको निलम्बनका कारण राष्ट्रिय तथा युवा टोली, एकेडेमीका खेलाडी, कर्मचारी, प्रशिक्षक र रेफ्रीलगायत प्रभावित भएको बताए । थप ढिलाइ गर्दा नेपाली फुटबलले ठूलो क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ ।

उनका अनुसार एन्फा एकेडेमीमा रहेका बालबालिकाको खानपान, बसोबास र पठनपाठनसमेत प्रभावित भएको छ । यू–१५ विश्वकप तथा फेस्टिभलमा सहभागी हुने युवा टोलीको तयारीमा समेत असर परेको उनले बताए ।

राईले एन्फा सरकारसँग सहकार्य गरेर समस्या समाधान गर्न तयार रहेको बताए । तर तत्काल समाधानका लागि पहल नभए फिफाको निर्देशनअनुसार सोमबारदेखि दैनिक गतिविधि सञ्चालन गर्नुपर्ने अवस्था आउने उनले बताए ।

राईले तेस्रो पक्षको हस्तक्षेपका कारण एन्फा निलम्बनमा परेको दाबी गरे । उनका अनुसार निलम्बनपछि फिफा र एसियाली फुटबल महासंघ (एएफसी) सँग एन्फाको औपचारिक सम्पर्कसमेत हुन सकेको छैन ।

उनले फिफाले पंकजविक्रम नेम्बाङ नेतृत्वको कार्यसमिति, महासचिव तथा अन्य पदाधिकारीलाई अझै आधिकारिक रूपमा मान्यता दिइरहेको दाबी गरे । त्यसैले एन्फा बर्खास्त नभई निलम्बित अवस्थामा मात्र रहेको उनको भनाइ छ ।

राईका अनुसार फिफाले निलम्बन फुकुवाका लागि राष्ट्रिय खेलकुद परिषद्ले २५ मार्च २०२६ मा गरेको निर्णय पूर्ण रूपमा खारेज गर्नुपर्ने, हालको एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्ने र एन्फाको विधानअनुसार निर्वाचन प्रक्रिया यथाशीघ्र पूरा गर्नुपर्ने शर्त राखेको छ ।

एन्फाका अनुसार आगामी ३० सेप्टेम्बर २०२६ सम्म निलम्बन फुकुवा नभए बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालको सहभागिता प्रभावित हुन सक्छ ।

निलम्बनका कारण एन्फा मुख्यालय तथा एकेडेमीका कर्मचारी, राष्ट्रिय महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र रेफ्रीले पारिश्रमिक तथा तलब–भत्ता पाउन नसकेको एन्फाको दाबी छ । विभिन्न आपूर्तिकर्तालाई करिब १० करोड रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको पनि एन्फाले जनाएको छ ।

महासचिव राईले नेपाली फुटबललाई थप क्षति हुन नदिन सरकार, फिफा र एएफसीबीच तत्काल समन्वय गरी समस्या समाधान गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?