काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२–०८३ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपानेले नेपालको आर्थिक समृद्धिका लागि जलविद्युत् क्षेत्र महत्वपूर्ण आधार भएकाले ऊर्जा उत्पादनमा लगानी विस्तार गर्नुपर्ने बताएका छन् । उनले जलस्रोतको सदुपयोगमार्फत विद्युत् उत्पादन बढाउन सके रोजगारी सिर्जना, औद्योगिक विकास, पूर्वाधार निर्माण तथा लगानीको वातावरणमा सकारात्मक प्रभाव पर्ने बताए ।
कम्पनीले पछिल्लो वित्तीय उपलब्धिलाई परियोजना विकास, वित्तीय अनुशासन तथा व्यवस्थापनको सक्रियताको परिणामका रूपमा लिएको जनाएको छ । जलविद्युत् परियोजना निर्माण दीर्घकालीन प्रक्रिया भए पनि शेयरधनीलाई प्रतिफल दिने आधार तयार हुनु महत्वपूर्ण उपलब्धि भएको कम्पनीको भनाइ छ ।
अध्यक्ष न्यौपानेको नेतृत्वमा विकास हाइड्रोपावरसँगै बुढीगण्डकी हाइड्रोपावर र साङ्ग्रीला हाइड्रोपावरका परियोजनासमेत निर्माणको चरणमा अघि बढिरहेका छन्् ।
कम्पनीले आगामी दिनमा जलविद्युत् क्षेत्रमा थप सम्भावना पहिचान गरी परियोजना विकास, वित्तीय स्रोत व्यवस्थापन, लागत नियन्त्रण तथा समयमै उत्पादन सुरु गर्ने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले जलविद्युत् क्षेत्रमा तत्कालीन नाफाभन्दा परियोजनाको दीर्घकालीन स्थायित्व र उत्पादन क्षमतालाई प्राथमिकता दिनुपर्ने बताउँदै आएका छन् । उनले कम्पनीको वित्तीय उपलब्धिलाई आगामी परियोजनाको विकाससँग जोड्दै शेयरधनीको विश्वास अझ सुदृढ बनाउने दिशामा व्यवस्थापन केन्द्रित रहेको बताए ।
त्यस्तै, निर्देशक सरोज धितालले कम्पनीको संस्थागत व्यवस्थापन, परियोजना विकास तथा रणनीतिक योजनामा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको कम्पनीले जनाएको छ ।
व्यवस्थापनबीचको समन्वय र निरन्तर प्रयासले कम्पनीलाई वित्तीय रूपमा थप सुदृढ बनाउँदै लगेको जनाइएको छ ।
प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी वृद्धि हुनेछ। बढेको पुँजीले कम्पनीको आगामी व्यावसायिक गतिविधि तथा परियोजना विस्तारका लागि आधार तयार पार्ने अपेक्षा गरिएको छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश सम्बन्धित नियामक निकायबाट स्वीकृति प्राप्त गरी आगामी साधारणसभामा प्रस्तुत गर्नेछ ।
साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्र बोनस शेयर तथा कर प्रयोजनका लागि प्रस्ताव गरिएको नगद लाभांश वितरण हुनेछ । त्यसैले सञ्चालक समितिले गरेको निर्णय हाल प्रस्तावका रूपमा रहेको कम्पनीले स्पष्ट गरेको छ ।
कम्पनीका अनुसार ०.५२६३ प्रतिशत नगद लाभांश बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको हो । लाभांश वितरणसम्बन्धी अन्य प्रक्रिया, साधारणसभाको मिति तथा आवश्यक विवरण नियामकीय प्रक्रिया पूरा भएपछि सार्वजनिक गरिनेछ ।
जलविद्युत् क्षेत्रमा कम्पनीको वित्तीय प्रतिफलसँगै परियोजनाको निर्माण प्रगति, उत्पादन क्षमता र वित्तीय व्यवस्थापनलाई समेत महत्वपूर्ण मानिन्छ । विकास हाइड्रोपावरले प्रस्ताव गरेको बोनस शेयरले कम्पनीको पुँजी संरचना विस्तारसँगै आगामी परियोजना विकासका लागि थप आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया