बिहानको चिया पिउँदै सहकर्मीहरूसँग दिनको गतिविधि र क्रियाकलापबारे छलफल गर्दै थिएँ। अपराध अनुसन्धान विद्यालय, महाराजगन्जस्थित क्यान्टिनमा सधैँजसोको दिनचर्या थियो मेरो। प्रहरी कर्मचारीहरूलाई अपराध अनुसन्धानसम्बन्धी उन्नत तालिम कसरी प्रभावकारी बनाउँदै लैजाने भन्ने विषयमा सहकर्मी एवम् अग्रज अधिकृतहरूसँग छलफल चलिरहेको थियो।
छलफलकै क्रममा क्यान्टिनमा रहेको टेलिभिजनमा एकाएक बाढीका दृश्यहरू देखेँ। एकछिन त त्यो दृश्यलाई विश्वास नै गर्न सकिनँ। कुन देशको, कुन ठाउँको घटना होला जस्तो लाग्यो। टिभीको आवाज बढाउन लगाएर अलि ध्यान दिएर सुनेँ। बाढी त रसुवामै पो आएको रहेछ! त्यत्रो ठूलो, भयावह र विकराल बाढी मेरो सोचभन्दा बाहिरको थियो। त्यो दृश्यले मन भारी र विक्षिप्त बनायो।
म आफ्नो कार्यालयतिर लागेँ। मनमा अनेक तर्कवितर्क खेल्न थाले- त्यत्रो ठूलो बाढी, घर र गाडीहरू बगेको दृश्य, मानिसहरू बगेको कारुणिक अवस्था ! उफ, त्यो अत्यासलाग्दो दृश्य दिनभरि मानसपटलमा घुमिरह्यो।
जब भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र आसपासका तटीय क्षेत्रहरूमा ठूलो जनधनको क्षति पुर्यायो, तब नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्र।ना।उ। हिरेन्द्रबहादुर रोकायाज्यूको नेतृत्वमा र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयबाट मेरो नेतृत्वमा हामी १६ जनाको टोलीलाई खोज, उद्धार, घटनास्थल मुचुल्का तथा कानुनी प्रक्रियाका लागि तुरुन्तै जिल्ला प्रहरी कार्यालय, नुवाकोटतर्फ खटाइयो। पत्र आउनासाथ हतार(हतार आफ्नो बन्दोबस्तीका सामान जुटाउन लागेँ। सङ्गठनमा प्रवेश गरेको दिनदेखि लिएको अठोट र खाएको कसम पूरा गर्ने अवसर प्राप्त भएको अनुभूतिले छाती चौडा भयो। त्यो क्षण भदौ १० गते रातिको समय थियो। भोलि बिहानै जम्मा भएर नुवाकोट प्रस्थान गर्ने जानकारी पाएपछि म घरतर्फ लागेँ।

११ गते बिहान हेडक्वार्टरमा भेला भई प्रहरी नायब उपरीक्षकज्यूको कमाण्डमा मसहित खटिएको टोली नुवाकोटतर्फ प्रस्थान गर्यौ । टिभीमा देखेको दृश्य र सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पढेका पीडितका व्यथाले मलाई बाटोभरि झस्काइरह्यो। अनेकौँ कुरा सोच्दासोच्दै नुवाकोट पुगेको पत्तै भएन।
नुवाकोटको बेत्रावतीमा सन्नाटा छाएको थियो। त्रिशूली नदीको त्यस्तो वितण्डा कसैले देखेका थिएनन्। दलदले हिलो र वरिपरि भग्नावशेष मात्र बाँकी थियो। कति घर बाढीसँगै बगे, कति पुरिए त कतिका छाना मात्र देखिए। स्थानीयहरूको चित्कार देखेर मन थाम्न सकिनँ। उनीहरूको अनुहारमा लुकेको पीडा, बेपत्ता आफन्तजनको खोजीमा छटपटिएका आँखा र विपद्ले छियाछिया भएको मन देख्दा म पनि उनीहरूकै पीडाको सागरमा चुर्लुम्म डुबेँ। त्यहाँ पुगेर आराम गर्ने अवस्था नै थिएन। हामी तुरुन्तै उद्धार तथा खोजी कार्यमा जुट्यौँ। पीडितहरूका भयभीत अनुहार र आशावादी आँखा हाम्रा लागि थकान मेटाउने प्रेरणा र ऊर्जा बने।
मेरो कमान्डमा खटिएको टोली निरन्तर उद्धारमा खटिरह्यो। कति बेला दिन ढल्यो र कति बेला रात पर्यो, पत्तै भएन। स्थानीय बासिन्दासँग हातेमालो गर्दै उद्धार र खोजीमा खटिँदा उनीहरूले भोगेको पीडा मलाई आफ्नैजस्तो लाग्थ्यो। हाम्रो कार्यक्षेत्र खासगरी नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावती क्षेत्रवरपर तोकिएको थियो। मेरै नेतृत्वमा हामी दिनरात नभनी बाढी प्रभावित बगर, भत्किएका घर र लेदोमा खटियौँ।
त्यो समय केवल कर्तव्य पूरा गर्ने औपचारिकता मात्र थिएन, एउटा गहिरो मानवीय पीडालाई नजिकबाट आत्मसात् गर्ने अग्निपरीक्षा थियो।
भदौ १६ गते मङ्गलबारको दिन थियो। सधैँझैँ हामी उद्धार तथा खोजीमा निस्कियौँ। विदुर नगरपालिका–१०, बेत्रावती क्षेत्रमा ड्रोन एवम् तालिमप्राप्त कुकुरको सहयोगमा खोजी भइरहेको थियो। त्यत्तिकैमा ड्रोनको क्यामेरामा दुईवटा शव देखिएको सूचना आयो। सूचना पाउनासाथ म मेरो टोली लिएर त्यसतर्फ बढेँ।
उक्त घर बच्चुराम अवस्थीको थियो। घरवरिपरि बाढीले थुपारेको दलदले हिलोका कारण त्यहाँसम्म पुग्ने अवस्था सहज थिएन। नजिकैका भग्नावशेषहरूबाट जस्तापाता, काठ र डोरीलगायतका सामग्री सङ्कलन गरी तिनैको सहायताले हामी उक्त घरसम्म पुग्न सफल भयौँ । शवको आवश्यक व्यवस्थापन गर्दै गर्दा वरिपरि खोतल्ने क्रममा अन्य २४ वटा शवसमेत फेला परे। मन पूरै विक्षिप्त भयो। कति परिवारका खम्बा, कोही सहारा, त कोही सपना नै देख्न नपाई बन्द भएका आँखाहरू एकै ठाउँमा बिलाएको देख्दा मन आत्तियोस हातगोडा काम्न थाले, शरीर पूरै शिथिल भयो। तर तत्कालै जिम्मेवारीबोधले मलाई झस्कायो। शोकलाई शक्तिमा बदल्दै आफ्ना सहकर्मीहरूलाई साथमा लिएर म पुनः शवहरूको
कानुनी व्यवस्थापनमा जुटेँ र सम्पुर्ण शवहरुको आवश्यक कानुनि प्रक्रीया पुरा गरेर नेपालि सेनाको हेलिकप्टरद्वारा सदरमुकाम पठाए ।
विनाशकारी बाढी आएको ११ औँ दिन (भदौ २० गते शनिबार) उद्धारकै क्रममा बेत्रावतीको नदीकिनारमा बाढीले बगाएर ल्याएको एउटा घर फेला पर्यो। पूरै पुरिएको, केवल छत मात्र देखिएको त्यो आनन्दलाल श्रेष्ठको चारतले घर रहेछ। छतमा पुगेपछि भित्रबाट मधुरो आवाज आएको सुनियो। हामी सबैले एकअर्कालाई हेर्यौँस साँच्चै मानिसकै आवाज हो कि भ्रम मात्र, छुट्याउन गाह्रो पर्यो।

त्यसपछि चारतले घरको माथिल्लो तलाको आधा देखिएको पर्खालमा सानो प्वाल बनाएर भित्र कोही हुनुहुन्छ कि भनी सोध्यौँ। नभन्दै भित्रबाट मलिन स्वरमा ‘मलाई बचाउनुहोस्, बचाउनुहोस्’ भन्ने आवाज प्रस्ट सुनियो। ११ औँ दिनसम्म भग्नावशेषभित्र पुरिएर उद्धारको पर्खाइमा रहेको त्यो आवाज सुन्दा हामी सबै निःशब्द भयौँ। त्यसपछि स्थानीय बासिन्दा एवम् सशस्त्र प्रहरीको टोलीसँग मिलेर हामीले पर्खाल भत्कायौँ।
करिब एक घण्टाको अथक प्रयासपछि हामी एक महिलाको सकुशल उद्धार गर्न सफल भयौँ। उहाँ आनन्दलाल श्रेष्ठकी ६४ वर्षीया धर्मपत्नी चण्डिका श्रेष्ठ हुनुहुन्थ्यो। मृत्युलाई जितेर फर्किनुभएकी उहाँको मुहार हेरेर हामी सबै भावुक बन्यौँ। यति धेरै दिनसम्म त्यसरी माटोमुनि पुरिएर कोही जीवितै रहन सक्ला भनेर कसैले कल्पनासमेत गरेका थिएनौँ। उहाँलाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल, छाउनी (काठमाडौँ) पठाइयो।
महिलाको सकुशल उद्धारपछि मन निकै हलुका भयो। आफ्नो जिम्मेवारीमा सार्थक सफलता मिलेको अनुभूति भयो। आफन्त गुमाउँदाको पीडाबीच पनि जीवित भेटिँदा आफन्तजनका मुहारमा छाएको खुसीले मनमा शीतलता दियो। आफ्नो कर्तव्यपथमा डटिरहन यसले थप ऊर्जा र हौसला प्रदान गर्यो। उद्धार भएको तीन दिन बितिसक्दा पनि त्यो आवाज अझै कानमा गुन्जिरहेजस्तो भान हुन्थ्यो।
बाढीको भेल घटे पनि बेत्रावतीका बगरहरूले छाडेर गएको विनाशको दृश्य मुटु नै हल्लाउने खालको थियो। खोलाको सतह बढेर बस्तीसम्मै थुप्रिएको बाक्लो लेदो, बालुवा र ढुङ्गाका बीच उभिएका पक्की घरहरू हेर्दा लाग्थ्यो— प्रकृतिले एकैछिनमा मानवबस्तीको अस्तित्व नै मेटाउने प्रयास गरेको थियो। घरका दोस्रो तलासम्मै बाढीले बगाएर ल्याएका घाँसपात, काठका मुढा र लेदो लतपतिएको थियोस झ्यालढोका भत्किएका थिए र घरभित्र छिर्नसमेत ज्यान जोखिममा राख्नुपर्ने अवस्था थियो।
हामीले नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दासँग काँधमा काँध मिलाएर त्यो दलदलभित्र उद्धार र खोजतलास अगाडि बढायौँ। भत्किएका घरका छत र कमजोर बनिसकेका पर्खालहरूमाथि चढेर एक(एक कुना खोतल्नुपर्थ्यो। बाढीले बगाएका सवारीसाधन, च्यापिएका सामान र बालुवामुनि पुरिएका कोठाहरूमा जीवन वा कसैको अवशेष भेटिन्छ कि भनी कोदालो, बेल्चा र खाली हातले समेत लेदो पन्छाउन हामी पछि परेनौँ।
त्यो विनाशका बीच सबैभन्दा संवेदनशील क्षण तब आयो, जब लेदो र बालुवाले पुरिएको एउटा सेफबाट बेत्रावतीकै श्री सूर्य विनायक सुनचाँदी पसलका राता बक्सहरू, ठूलो परिमाणमा सुनचाँदीका गरगहना, पोतेका माला र नगद फेला परे। बाढीको लेदोमा लतपतिएका ती बहुमूल्य धातु र गहनाहरू कसैको जिन्दगीभरको पसिना र पुँजी थिए। हामीले ती सबै गहना र नगदलाई एक(एक गरी सङ्कलन गर्यौँ, सफा गरेर त्रिपालमाथि फिँजायौँ र कानुनी मुचुल्का तयार पारेर सुरक्षित गर्यौँ र पसलका सञ्चालक ईश्वर बहदुर सुनारलाई भर्पाई गरेर जिम्मा दियौँ। त्यो भयानक विपद्मा पनि नागरिकको धनसम्पत्ति एक रत्ती तलमाथि हुन नदिई सुरक्षित राख्नु हाम्रो कर्तव्यको ठूलो परीक्षा थियो।

गमबुटमा लेदो भरिएर हिँड्न गाह्रो हुँदा होस् वा भत्किनै लागेका छतहरूमा टेकेर जोखिम मोल्दा, हाम्रो टोलीको एउटै सङ्कल्प थियो— पीडित नागरिकलाई सकेसम्म राहत र न्यायको अनुभूति दिलाउने। बेत्रावतीको त्यो बाढी केवल एउटा प्राकृतिक प्रकोप मात्र थिएन, बर्दीभित्रको मानवीय भावना, इमानदारी र कर्तव्यबोधको कहिल्यै नमेटिने एउटा जीवन्त इतिहास थियो।
भदौ १० गतेदेखि भदौ २२ गतेसम्म निरन्तर खोज, उद्धार र मुचुल्का लेखनमा खटिएर जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट फिर्ता रवाना हुँदा, टोलीका हरेक सदस्यको मनमा विपद्ले पारेको घाउको दुखाइ एकातिर थियो भने अर्कोतिर सङ्कटको घडीमा नागरिकको सेवा र सुरक्षामा अहोरात्र खटिन पाएकोमा एउटा सच्चा प्रहरी हुनुको गर्व थियो। ती दिनहरू कर्तव्य, मानवीय संवेदना र समर्पणको एउटा अमिट सम्झना बनेर सधैँ मनमा जीवित रहनेछन्।
(भदौ १० को बाढीपछि उद्धारमा खटिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) महेन्द्र दर्नालको अनुभवमााआधारित ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया