भोटेकोसी बाढी प्रभावित क्षेत्रमा प्रयोग गर्न ‘प्रोटोन’ ले दियो ड्रोन

लोकपथ
0
Shares

काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाल सरकारलाई करिब २ लाख मलेसियन रिङ्गिट बराबरको ड्रोन सहयोग गरेको छ ।

रसुवास्थित भोटेकोसीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा मानवीय सहायता, खोज तथा उद्धार र विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन प्रोटोनले ड्रोन सहयोग गरेको हो ।

प्रोटोनका अनुसार विपद्का समयमा प्रभावित क्षेत्रको अवस्थाबारे तत्काल जानकारी लिन, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन र सडकमार्गबाट पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाई निरीक्षण गर्न ड्रोन उपयोगी हुनेछ ।

ड्रोन सहयोगको व्यवस्थापन तथा समन्वय मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (नाडमा) ले गरेको हो । मलेसियामा रहेका ड्रोन सुरुमा स्पेसल मलेसिया डिजास्टर असिस्टेन्स एन्ड रेस्क्यु टिम (स्मार्ट) को मुख्यालयमा नाडमालाई हस्तान्तरण गरिएको थियो ।

मलेसियाको मानवीय सहायता तथा विपद् उद्धार अभियानअन्तर्गत नेपालमा खटिएको स्मार्ट टोलीले ती ड्रोन नेपाल ल्याउने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । प्रोटोनले नेपाल सरकारलाई प्रदान गरेका ड्रोन नेपाल सरकारकै स्वामित्वमा रहने जनाएको छ ।

ड्रोन हस्तान्तरण समारोहमा प्रोटोन इन्टरनेसनल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङ र नाडमाका महानिर्देशक दातो’ मियर इसमाइल बिन मियर अकीमको उपस्थिति थियो ।

कार्यक्रममा मलेसियाको विदेश मन्त्रालयका प्रतिनिधि चु ह्वाई जेङ र इन्चिक जुल इज्बान हम्जाको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?