भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन गर्न गगन थापाको माग

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत वर्ष भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा बोल्दै थापाले भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा भएको राज्य दमनदेखि भदौ २४ गते भएको हिंसा, आगजनी र सार्वजनिक सम्पत्तिको विनाशसम्मका घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

उनले भदौ २४ गते आफ्नै घर जलेको र परिवारसमेत आगलागीको जोखिममा परेको स्मरण गरे । तर आफ्नो र आफूजस्ता व्यक्तिको घर जलेको पीडाभन्दा आन्दोलनका क्रममा सन्तान गुमाएका अभिभावक तथा घाइते युवाको पीडा ठूलो रहेको उनले बताए ।

थापाले भदौ २४ लाई आफूले व्यक्तिगत क्षतिको दिनका रूपमा मात्रै नहेरेको बताए । उनका अनुसार उक्त घटनासँग जोडिएका अनुत्तरित प्रश्नको जवाफ खोज्न नसके त्यसको मूल्य सिंगो समाजले चुकाउनुपर्ने अवस्था आउन सक्छ ।

उनले भदौ २३ गते युवाहरूले आफ्नो आक्रोश व्यक्त गर्दै साहस प्रदर्शन गरेको दिन भए पनि त्यही दिन उनीहरूमाथि राज्यको चरम दमन भएको बताए । साथै, शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउनेहरूको पहिचान हुनुपर्ने उनको भनाइ छ ।

‘दमन गर्नेहरूले सजाय पाउनै पर्छ,’ थापाले भने ।

उनले भदौ २४ गतेका घटनामात्र नभई भदौ २३ गतेदेखि नै घटनाक्रमको समीक्षा र अनुसन्धान सुरु गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?