सरकारले भन्यो– ‘सुरुङ उद्धारमा प्रगति भएन, प्रयास जारी छ’

लोकपथ
0
Shares

काठमाडौं । सरकारले बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा अझै प्रगति हुन नसकेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कठिन भौगोलिक अवस्थाका बीच उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको भए पनि अहिलेसम्म उल्लेख्य प्रगति हुन नसकेको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले सुरुङ उद्धारका लागि नेपाली टोली सुरुदेखि नै परिचालित रहेको बताए । भारत र चीनबाट आएका सुरुङ विशेषज्ञ टोलीले समेत उद्धार कार्यमा सहयोग गरिरहेको उनले जानकारी दिए ।

‘भूगोलको असहज अवस्था र कठिनाइका बीच उद्धार टोलीले दिनरात नभनी काम गरिरहेको छ । तर केही बेरअघिसम्मको जानकारीअनुसार उद्धारमा कुनै प्रगति भएको छैन,’ प्रवक्ता क्षेत्रीले भने ।

भारतबाट आएका २४ सदस्यीय दुईवटा टोली र चीनबाट आएको नौ सदस्यीय विशेष सुरुङ उद्धार टोली जलविद्युत् आयोजनाका सुरुङमा परिचालित छन् । भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनासँग सहकार्य गरिरहेको छ भने चिनियाँ टोलीले माथिल्लो त्रिशूली–थ्री ए आयोजना क्षेत्रमा खोज तथा उद्धार गरिरहेको छ ।

दक्षिण कोरियाबाट पनि सुरुङ उद्धार टोली नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बाढी आएको एक साता बितिसक्दा पनि चिलिमे, लाङटाङ, माथिल्लो त्रिशूली–थ्री ए र माथिल्लो त्रिशूली–थ्री बी लगायतका आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार हुन सकेको छैन । उद्धारका लागि स्वदेशी तथा विदेशी प्राविधिक टोली परिचालन भए पनि कठिन भौगोलिक अवस्थाका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?