काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी निधन भएकामध्ये पोखरा लगिएका १०२ जनाको शवको पोस्टमार्टम प्रक्रिया सम्पन्न भएको छ ।
पोस्टमार्टम गरिएकामध्ये पहिचान हुन नसकेका ७८ शवलाई जिल्ला विपद् व्यवस्थापन समिति र पोखरा महानगरपालिकाको समन्वयमा सुरक्षित रूपमा व्यवस्थापन गर्न थालिएको छ ।
पोखरामा राखिएका १०२ शवमध्ये पूर्वी नवलपरासीका ४१, धादिङका २७, तनहुँका २४ र गोरखाका ११ शव रहेका थिए । तीमध्ये २४ शवको पहिचान भएपछि आफन्तलाई हस्तान्तरण गरिएको छ भने ७८ शव अझै पहिचान हुन बाँकी छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नवीन कार्कीका अनुसार पहिचान हुन नसकेका शवको पोस्टमार्टमकै क्रममा डीएनए नमुना संकलन गरिएको छ । संकलित नमुना विधि विज्ञान प्रयोगशालामा पठाइनेछ । भविष्यमा आफन्त सम्पर्कमा आएमा डीएनए परीक्षणमार्फत शवको पहिचान गरिने प्रहरीले जनाएको छ ।
बेपत्ता व्यक्तिका आफन्तले नजिकको प्रहरी कार्यालयमा समन्वय गरी रगतको नमुना उपलब्ध गराउन सक्नेछन् । डीएनए परीक्षणबाट नमुना मिलेमा शव आफन्तलाई हस्तान्तरण गरिने प्रहरीको भनाइ छ ।
पहिचान नभएका शवलाई पोखरा महानगरपालिका र जिल्ला विपद् व्यवस्थापन समितिले तोकेको सुरक्षित स्थानमा व्यवस्थापन गरिनेछ । उक्त स्थानलाई तारजालीले घेराबारा गरी अनधिकृत व्यक्तिको प्रवेशमा रोक लगाइने प्रहरीले जनाएको छ ।
प्रत्येक शवमा ‘युनिक आइडेन्टिफिकेसन ट्याग’ लगाइएको छ । भविष्यमा शवको पहिचान खुलेमा सोही ट्यागका आधारमा उत्खनन तथा हस्तान्तरण गर्न सहज हुने प्रहरीको भनाइ छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण निधन भएका तथा अंगभंग भएका कारण पहिचान गर्न कठिन भएका शवहरू पोखरा ल्याइएको थियो ।
प्रहरीले पहिचान नभएका शवको अन्त्येष्टि नगरिएको स्पष्ट पार्दै वैज्ञानिक र कानुनी प्रक्रियाअनुसार सुरक्षित रूपमा व्यवस्थापन गर्न लागिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया