कृष्णभीर पहिरो : पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने

लोकपथ
0
Shares

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा ल्याउन कम्तीमा १५ दिन लाग्ने भएको छ ।

भोटेकोशीमा आएको ठूलो बाढीपछि त्रिशूली नदीमा पानीको बहाव बढ्दा कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भएको थियो । कटानसँगै माथिल्लो भूभागमा चिरा परेर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडक विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली परिचालन गरी सडक तत्काल सञ्चालनमा ल्याउने तयारी थालेको छ । स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीको उच्च बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेपछि पहिरो खसेको बताए ।

उनका अनुसार विज्ञहरूको प्राविधिक रायका आधारमा सम्भव भएसम्म १० देखि १५ दिनभित्र राजमार्ग सञ्चालनमा ल्याउने गरी काम अघि बढाइनेछ । तत्कालका लागि वैकल्पिक रुट तथा स्थानीय सडक प्रयोग गरेर यातायात सञ्चालन गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिए ।

‘यो राजमार्ग नेपालकै लाइफलाइन भएकाले उच्च प्राथमिकता दिएका छौँ । सबै विज्ञहरूको राय लिएर सकेसम्म १० देखि १५ दिनमा खुलाउने प्रयत्न गर्छौँ,’ ढकालले भने ।

सडक विभागका भू–प्राविधिक विज्ञ मधुसुदन आचार्यले कृष्णभीरमा पुरानै स्लोप फेलियर भएको क्षेत्रमा पुनः पहिरो गएको बताए । उनका अनुसार तत्काल सडक खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना छ ।

उनले सडक माथिबाट कटिङ गर्दा स्लोपलाई चरणबद्ध रूपमा निलिङ गर्दै लैजानुपर्ने बताए । प्रारम्भिक अध्ययनमा सडकको तल्लो भागमा नदी कटान तत्कालका लागि रोकिएको देखिएको र ड्रोनबाट खिचिएका तस्बिरमा तल्लो भागमा बेडरक रहेको हुनसक्ने देखिएकाले माथिल्लो भागबाट डाइभर्सन निकालेर सडक सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

आचार्यका अनुसार पहिरो प्रभावित क्षेत्रमा करिब १०० मिटर लम्बाइ र १० देखि १५ मिटर उचाइ छ । त्यहाँबाट हजारौँ घनमिटर सामग्री हटाउनुपर्ने देखिएको छ । तीनदेखि चारवटा मेसिन परिचालन गरी तीव्र गतिमा काम गर्न सके करिब १५ दिनमा सिंगल लेन सडक सञ्चालनमा ल्याउन सकिने उनले बताए ।

नदीको टो–स्कर तथा कटान नियन्त्रणका लागि जिओब्याग, ग्याभिन नेट तथा बोल्डरलाई नेटले र्‍याप गरेर तल्लो भाग संरक्षण गर्न सकिने विभागको सुझाव छ । यस्तो संरचनाले नदी कटान घटाउनुका साथै विद्यमान स्लोप थप भत्किनबाट जोगाउन सहयोग गर्ने विभागको भनाइ छ ।

यसैबीच, सडक विभागले आगामी दिनमा नदी करिडोरमा निर्माण हुने राजमार्गलाई थप दिगो तथा विपद् प्रतिरोधी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ । नदीको उच्च बहावलाई ध्यानमा राखेर सडकको उचाइ बढाउने, वैकल्पिक लिंक तथा रुट विकास गर्ने, अग्ला पुल र आवश्यक स्थानमा साना सुरुङ निर्माण गर्ने तथा सुरक्षित प्रविधिमा आधारित संरचना विकास गर्नुपर्ने विभागको सुझाव छ ।

विभागका अनुसार सुरुआती लागत केही बढे पनि दीर्घकालीन रूपमा टिकाउ र विपद् प्रतिरोधी प्रविधिमा आधारित राजमार्ग निर्माणलाई प्राथमिकता दिन आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?