काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ५६ पुगेको छ । नेपाल प्रहरीले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार नेपालका विभिन्न जिल्ला र भारतमा समेत गरी यति धेरै शव फेला परेका हुन् ।
प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६५, नुवाकोटमा १५१, गोरखामा ६५, धादिङमा ५७, रसुवा र तनहुँमा ३८–३८ वटा शव भेटिएका छन् । भारतमा पनि ५ वटा शव फेला परेका छन् ।
फेला परेका शवमध्ये ९७२ वटाको लासजाँच मुचुल्का पूरा भएको छ । हालसम्म ५८ वटा शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
पहिचान गर्न कठिन भएका शवको कानुनी प्रक्रिया पूरा गरी डीएनए नमुना संकलन गरेर व्यवस्थापन गर्ने काम भइरहेको छ । हालसम्म ६८४ वटा शव व्यवस्थापन गरिएको छ । व्यवस्थापन गरिएका शवमध्ये १२१ महिला, १९८ पुरुष र ३६५ जनाको पहिचान खुल्न सकेको छैन ।
पहिचान हुन बाँकी ८६९ शवको विवरण प्रहरीले आफ्नो आधिकारिक वेबसाइटमा राखेको छ । आफन्तले वेबसाइटमार्फत शवको विवरण हेरेर पहिचान गर्न सक्नेछन् ।
बाढीमा बेपत्ता भएकाहरूको खोजी पनि जारी छ । प्रहरीले नदी र प्रभावित क्षेत्रमा अझै ४ हजार ६०६ जनाको खोजी भइरहेको जनाएको छ । जोखिमयुक्त क्षेत्रबाट ४ हजार ५३० जनालाई भने सकुशल उद्धार गरिएको छ ।
खोजी तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९१२ जना प्रहरी परिचालन भएका छन् ।
बाढीबाट प्रभावित नागरिकलाई नुवाकोट, धादिङ, रसुवा र काठमाडौंमा बनाइएका होल्डिङ सेन्टरमा राखिएको छ । अहिले यी केन्द्रमा ३ हजार ४५३ जना आश्रय लिइरहेका छन्। त्यसमध्ये सबैभन्दा धेरै नुवाकोटमा २ हजार ४६६ जना छन् ।
प्रहरीले स्थानीय बासिन्दा र अन्य निकायसँगको समन्वयमा अवरुद्ध सडक खुलाउने काम पनि गरिरहेको छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने र बेपत्ताको खोजी गर्ने कामलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया