काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ता भएका व्यक्तिको यकिन तथ्याङ्क अझै निर्धारण गर्न कठिन रहेको जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सोमबार बिहान ९ बजेसम्म विभिन्न आधिकारिक निकायबाट संकलन गरिएको विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन् । तर खोज तथा उद्धार कार्य जारी रहेकाले यो संख्या घटबढ हुन सक्ने उनले बताइन् ।
उनका अनुसार स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत् आयोजनाबाट बेपत्ताको विवरण संकलन भइरहेको छ । फरक–फरक निकायबाट प्राप्त विवरणलाई एकीकृत गरी हालको तथ्याङ्क तयार गरिएको उनले स्पष्ट पारिन् ।
महतले हाइड्रोपावर आयोजना तथा सुरुङबाट उद्धार कार्यसमेत जारी रहेको जानकारी दिइन् । उनका अनुसार हाइड्रोका सुरुङबाट मात्रै हालसम्म २८९ जनाको उद्धार गरिएको छ । आइतबार चिनियाँ १५ र भारतीय ७ गरी थप २२ जनाको हाइड्रो क्षेत्रबाट उद्धार गरिएको थियो भने सोमबार पनि खोज तथा उद्धार जारी रहेको उनले बताइन् ।
लाङटाङ हाइड्रोमा भएको क्षतिको छुट्टै विवरण भने अहिलेसम्म प्राप्त नभएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार रसुवा बाढीमा हालसम्म ९०३ जनाको शव फेला परेको छ । १० हजारभन्दा बढीको उद्धार गरिएको छ भने २६७ जना घाइते उपचारपछि घर फर्किएका छन् । सम्पर्कविहीन व्यक्तिको खोजीका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैबीच, बाढीका कारण अवरुद्ध भएका सडक तथा सञ्चार सेवा अधिकांश क्षेत्रमा सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । वैकल्पिक मार्ग पहिचान गरी सडक आवागमन सहज बनाइएको प्रवक्ता महतले बताइन् ।
विपद्का कारण १० हजारभन्दा बढी पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । आवागमन पुनः सञ्चालनका लागि नेपाल सरकार र नेपाली सेनासँग उपलब्ध बेलीब्रिज प्रयोग गरिने तथा चीन र भारतबाट थप बेलीब्रिज ल्याउने प्रक्रिया अघि बढाइएको महतले जानकारी दिइन् ।
क्षतिग्रस्त नेपाल टेलिकम तथा एनसेलका टावरहरू पनि लगभग सबै सञ्चालनमा आइसकेका छन् । भविष्यमा पुनः बाढी आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै गल्छी र रसुवाको टिमुरेमा हाइड्रोलोजिकल स्टेसन स्थापना गरिएको उनले बताइन् । ती स्टेसनबाट बाढीको वास्तविक समयको तथ्याङ्क प्राप्त गर्न सकिने र थप स्थानमा पनि यस्ता स्टेसन जडान गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्राधिकरणले करिब १४ वटा छुट्टाछुट्टै कार्यदल गठन गरी परिचालन गरेको छ । उद्धार, राहत, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वयका लागि छुट्टाछुट्टै कार्यदल बनाएर बिहीबारदेखि नै काम अघि बढाइएको महतले जानकारी दिइन् ।
उनका अनुसार विशेषज्ञसहितको शव व्यवस्थापन टोली विभिन्न क्षेत्रमा परिचालित छ । टोलीले शव व्यवस्थापनसँगै संक्रमणको जोखिम न्यूनीकरणका विषयमा समेत काम गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया