बाढी-पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, यात्रा नगर्न प्रहरीको आग्रह

लोकपथ
56
Shares

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले आइतबार साँझ ५ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै सडकको अवस्था प्रतिकूल रहेकाले यात्रुहरूलाई सतर्क रहन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्रहरीका अनुसार कान्तिलोकपथअन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडा पाण्डुरमा दिउँसो २ः४० बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा अविरल वर्षाका कारण सडक अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक मार्गको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा राति ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ४ बजेसम्म भने परिस्थितिको मूल्याङ्कन गरी सवारी सञ्चालन गर्न दिइनेछ ।

कान्तिलोकपथको हेटौंडा–ठिंगन–बागमती–ललितपुर खण्डमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

त्यस्तै, त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त अवरोध लामो समयसम्म कायम रहने प्रहरीले जनाएको छ । पसाङ ल्हामु सडक खण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

टोखा–छहरे सडक खण्डको शिवपुरी गाउँपालिका–स्थित घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारीमा बिहान ७ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा बिहान ८ बजे तथा गजुरी गाउँपालिका–२ परेवाभीरमा दिउँसो १२ बजे पहिरो खसेपछि दुवै स्थानमा यातायात अवरुद्ध भएको छ ।

बेनी–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैँसरीमा बिहान ५ः५५ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै, मुगु–नाग्मदेखि मुगु–गमगढी सडक खण्डअन्तर्गत छायानाथ रारा नगरपालिका–७ झ्यारीखोला र टोक्लामा दिउँसो २ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । मौसम प्रतिकूल रहेकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

यात्रा गर्नैपर्ने अवस्था भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल रुममा सम्पर्क गरी सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?