बूढीगण्डकी बाढी : ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद

लोकपथ
0
Shares

काठमाडौं । बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् ।

बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् ।

बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ । यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।

बाढीले चुमनुब्रीगाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ । बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ ।

आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद

उत्तरी गोरखाको हिमाली भेगमा हिउँपहिरो खसेपछि बुढीगण्डकी नदीमा आएको आकस्मिक तथा भीषण बाढीले आरुघाटस्थित पुल बगाएको छ ।

बाढीले जलसतहको खतरा तह निकै माथि पार गरेपछि धादिङ र गोरखा जोड्ने मुख्य सडक सम्पर्क विच्छेद भएको हो ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, धादिङ, तनहुँ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाउन निर्देशन दिएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिकास्थित लोक्पा र चुमलिङ क्षेत्रमा हिउँपहिरो खसेर नदी थुनिँदै र फुट्दै आएपछि बुढीगण्डकीमा लेदोसहितको भयानक बाढी आएको हो ।

आइतबार सिंहदरबारस्थित कार्यालयमा जानकारी दिँदै प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले बाढीका कारण आरुघाट बजार क्षेत्र जलमग्न भएको र धादिङ जोड्ने पुल बगेको पुष्टि गरे । उनकाअनुसार बाढीले शाहस ऊर्जा कम्पनीको तल्लो संरचनामा क्षति पुर्‍याएको छ भने त्यहाँ कार्यरत १८ जना प्राविधिक तथा कर्मचारी सुरक्षित स्थानतर्फ सरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?