सरकारलाई सांसद यादवको प्रश्न : ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर योजना किन अन्यत्र सार्न  खोजियो ?

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद यादवले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशको लहानमा ट्रमा सेन्टर निर्माण हुने जानकारी दिएको उल्लेख गर्दै ढल्केवरमा यसअघि घोषणा गरिएको ट्रमा सेन्टरको योजना किन अलपत्र पारिएको भन्दै प्रश्न उठाए ।

उनले अन्य स्थानमा ट्रमा सेन्टर निर्माण गरिनुमा कुनै आपत्ति नरहेको स्पष्ट पार्दै ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर भने जसरी पनि निर्माण हुनुपर्ने माग गरे ।

सांसद यादवले भने,‘अन्यत्र ट्रमा सेन्टर बन्दा हामीलाई कुनै आपत्ति छैन। तर ढल्केवरमा जुन डेडिकेटेड ट्रमा सेन्टर थियो, त्यो कहाँ हरायोरु सरकारसँग मेरो प्रश्न छ ।’

संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत धनुषाको हालको मिथिला नगरपालिका–७ स्थित ऐलानी जग्गामा ट्रमा सेन्टर निर्माणका लागि पहिलो पटक बजेट विनियोजन गरेको थियो । त्यसयता हरेक आर्थिक वर्ष उक्त शीर्षकमा बजेट छुट्याइए पनि निर्माण प्रक्रिया भने अघि बढ्न सकेको छैन ।

मन्त्री मेहताले लहानमा ट्रमा सेन्टर निर्माण हुने जानकारी दिएपछि ढल्केवरको प्रस्तावित ट्रमा सेन्टरको भविष्यलाई लिएर पुनः बहस सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?