जन्मसिद्ध नागरिकतामा ट्रम्पको नयाँ कडाइ, दुई कार्यकारी आदेश जारी

लोकपथ
35
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकतासम्बन्धी दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अमेरिकी अध्यागमन नीतिलाई थप कडा बनाउने कदम चालेका छन् ।

उनले अमेरिकी सर्वोच्च अदालतको अघिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग भइरहेको दाबी गरेका छन् ।

दुई महिनाअघि अमेरिकी सर्वोच्च अदालतले ६–३ को बहुमतबाट अमेरिकी भूमिमा जन्मिएका व्यक्तिलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थालाई चुनौती दिने ट्रम्प प्रशासनको प्रयास अस्वीकार गरेको थियो । उक्त निर्णयबारे प्रतिक्रिया दिँदै ट्रम्पले त्यसलाई प्रतिस्पर्धात्मक तर अत्यन्त दुर्भाग्यपूर्ण निर्णयको संज्ञा दिएका छन् ।

अमेरिकी संविधानको १४औँ संशोधनअनुसार अमेरिकी भूमिमा जन्मिएका अधिकांश शिशुले स्वतः अमेरिकी नागरिकता प्राप्त गर्छन् । विदेशी कूटनीतिज्ञका सन्तान तथा शत्रु राष्ट्रका सैनिकका सन्तानजस्ता केही अपवाद भने यस व्यवस्थामा रहेका छन् ।

ट्रम्पले गृहयुद्धपछि दासका सन्तानलाई नागरिकता दिने उद्देश्यले ल्याइएको उक्त व्यवस्थाको अहिले दुरुपयोग भइरहेको दाबी गरेका छन् ।

ट्रम्पका अध्यागमन नीतिका सल्लाहकार स्टेफन मिलरका अनुसार पहिलो कार्यकारी आदेशले विदेशी आतंकवादी संगठनका सदस्य तथा विदेशी सरकारका तर्फबाट काम गर्ने केही व्यक्तिका सन्तानलाई जन्मसिद्ध नागरिकताको सुविधा नदिने व्यवस्था गरेको छ । उनका अनुसार यसले जन्मसिद्ध नागरिकताको दुरुपयोग रोक्न सहयोग गर्नेछ ।

दोस्रो कार्यकारी आदेशले ‘बर्थ टुरिजम’ अर्थात् बच्चाले अमेरिकी नागरिकता पाओस् भन्ने उद्देश्यले गर्भवती महिला पर्यटक भिसामा अमेरिका जाने अभ्यासलाई लक्षित गरेको छ । मिलरले अब यस्तो उद्देश्यका लागि पर्यटक भिसा जारी नगरिने बताएका छन् ।

यसरी अमेरिका पुगेर बच्चा जन्माउने विदेशी महिलाको आधिकारिक तथ्यांक उपलब्ध नभए पनि ट्रम्प समर्थक संस्था ‘सेन्टर फर इमिग्रेसन स्टडिज’ले सन् २०१६–२०१७ बीच २० हजारदेखि २५ हजार महिलाले यस्तो गरेको दाबी गरेको छ ।

ह्वाइट हाउसले नयाँ कार्यकारी आदेश सर्वोच्च अदालतको अघिल्लो निर्णयसँग नबाझिने दाबी गरेको छ । तर, कानुनविद्हरूले यी आदेश अदालतमा चुनौतीको सामना गर्न सक्ने बताएका छन् ।

ट्रम्पले आफू सर्वोच्च अदालतमा जित्ने अपेक्षा गरेको भए पनि अन्यायपूर्ण निर्णय आएको भन्दै अहिले अर्को कानुनी बाटोबाट समस्या समाधान गर्न खोजिएको बताएका छन् ।

हाल अमेरिकी कानुनले ‘बर्थ टुरिजम’लाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छैन । तर, सन् २०२० देखि लागू भएको नियमअनुसार बच्चालाई अमेरिकी नागरिकता दिलाउने मुख्य उद्देश्यले पर्यटक वा व्यावसायिक भिसा प्रयोग गरेर अमेरिका जान भने अनुमति छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?