काठमाडौं । बाँदरले आम नागरिकलाई निरन्तर दुःख दिएको विषय संसदसम्म उठ्ने गरेको छ ।
कतै बालीनाली नास गर्ने, कतै घरका सामानहरु नै असुरक्षित मात्र होइन मान्छेसमेत असुरक्षित बनेको खबरहरु आइरहन्छन् । सांसदहरुले संसदमा समेत बाँदरको समस्या समाधान गर्न माग गरिरहेका छन् ।
शुक्रबार दिउँसो काठमाडौंको तिलगंगास्थित एक विद्यालयमा बाँदरका कारण शिक्षक र केही कर्मचारी स्कुलमै थुनिएका छन् ।
तिलगंगा नजिकै रहेको शारदा आधारभूत विद्यालयका प्रधानाध्यापक महेश भण्डारीसहित २ जना कर्मचारी कक्षामै थुनिए ।
प्रअ भण्डारीका अनुसार बिजुलीको पोलमा करेन्ट लागेर एउटा बाँदर मर्यो । त्यसपछि त्यहाँ नजिकका बाँदरहरु जम्मा भए । अन्य शिक्षक तथा कर्मचारी र विद्यार्थीहरु घर गए पनि तीन जना भने निस्कने तरखरमा थिए । तर बाँदरले झम्टिएर आक्रमण गर्न थालेपछि तीनै जना किचेनमा ढोका थुनेर बसिरहेको प्रअ भण्डारीले लोकपथलाई बताए ।

आज दशैँको शुभकामना आदानप्रदान कार्यक्रम रहेको र अबिर लगायत रातो आफ्नो मोटरसाइकलमा लागेका कारण पखाल्न निस्किएका थिए प्रअ भण्डारी । तर बाँदरले आक्रमण गर्न खोजेपछि उनी भित्र पुगे । त्यसपछि निरन्तर बाहिरिन खोज्दा बाँदरको फौजले आक्रमण गर्न खोजेपछि प्रहरीसम्म खबर पुगेको छ ।

‘आज विद्यालयमा दशैँको शुभकामना आदानप्रदान कार्यक्रम थियो । विद्यार्थी शिक्षक र कर्मचारीबिच अबिर लगाएर शुभकामना आदानप्रदान भयो । त्यसपछि अन्य विद्यार्थी र शिक्षकहरु निस्किनुभयो । म र केही कर्मचारी मात्रै बाँकी थियौँ । म पनि मोटरसाइकलमा अबिर लागेका कारण पानीले पखाल्नुपर्यो भन्दै निस्किएको मात्रै थिएँ, बाँदरले मलाई झम्टिएपछि अहिले किचेनमा लुकेर बसेको छु । मसँगै अन्य दुई जना कर्मचारीहरु पनि बस्नुभएको छ । जब हामी झ्याल खोल्छौँ तब बाँदर आक्रमण गर्न आइहाल्छ,’ भण्डारीले भने ।
अहिले प्रहरी बृत्त गौशालाबाट उद्धारका लागि प्रहरी टोली विद्यालयमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया