स्वास्थ्यकर्मीको समस्या समाधान गर्न सरकार गम्भीर बनोस् : तोषिमा कार्की

लोकपथ
14
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको समस्या समाधान र उनीहरूको वृत्तिविकासका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विशेषगरी आवासीय (इन्टर्न) चिकित्सकहरू श्रम शोषण र न्यून सेवा–सुविधाको मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावको चर्चा भए पनि ग्रामीण क्षेत्रमा चिकित्सक पुर्‍याउने दीर्घकालीन र प्रभावकारी रणनीति बनाउन सरकार असफल भएको टिप्पणी गरिन् । संघीय सरकारको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् ।

डा। कार्कीका अनुसार प्रदेश मातहतका जिल्ला अस्पताल तथा आधारभूत अस्पतालहरूको अवस्था अझै कमजोर छ। एकातर्फ सरकारले स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने दाबी गर्ने तर अर्कोतर्फ चिकित्सकहरू आफ्ना माग पूरा गराउन आमरण अनशन बस्नुपर्ने अवस्था आउनु स्वास्थ्य क्षेत्रकै लागि दुर्भाग्यपूर्ण भएको उनले बताइन् ।

उनले शिक्षा मन्त्रालयले गठन गरेको कार्यदलले करिब ८० दिनअघि प्रतिवेदन बुझाइसके पनि त्यसका सिफारिस कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उक्त प्रतिवेदनमा इन्टर्न चिकित्सकलाई आठौँ तहका चिकित्सकले पाउने निर्वाह भत्ताको ५० प्रतिशत उपलब्ध गराउन सिफारिस गरिएको स्मरण गराउँदै उनले त्यसलाई तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरिन् ।

बैठकमा बोल्दै उनले करियरको सुरुवाती चरणमा रहेका चिकित्सकहरू पर्याप्त निर्वाह भत्ता, तोकिएको कार्यसमय र न्यूनतम आधारभूत सुविधाबाट समेत वञ्चित हुनुपरेको बताइन् । यस्तो अवस्थाले उनीहरूको सिकाइ, कार्यक्षमता र समग्र स्वास्थ्य सेवाको गुणस्तरमा नकारात्मक असर परेको उनको भनाइ थियो ।

सरकारले कार्यदल गठन गरेर पनि त्यसका सुझाव कार्यान्वयन नगर्दा स्वास्थ्यकर्मीहरू थप समस्यामा परेको उल्लेख गर्दै डा. कार्कीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?